Nic Ad Nic Ad
Nic Ad Nic Ad

...अनि माओवादी पदाधिकारी बैठकमा छचल्कियो काउचका कुरा र कट्वाल काण्ड

बिहीबार, साउन १७, २०८१

काठमाडौं– हालै सम्पन्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक लामो विषयमा छलफल भई सकियो। सामूहिक राजीनामादेखि सरकारमा रहेको विषयसम्ममा गहिरोगरी पदाधिकारीले आफ्ना धारणा राखेका थिए। 

सरकारमा रहेर जनतामा डेलिभरी दिन नसकेको र माओवादीबिरोधी शक्ति हावी भएको भन्ने पनि उठ्यो। सत्ता समीकरण परिवर्तन हुँदैछ भन्ने प्रधानमन्त्री रहेका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुइँकोसम्म नपाएको भन्ने विषयले आलोचना पनि भयो। 

‘उता कांग्रेस एमाले मिलेको सबैलाई थाहा भइसक्यो, हल्ला चलिसक्यो यता बालुवाटारको काउचमा बसेर ढुक्कले बस्नुस् सरकार परिवर्तन हुँदैन, यो हल्ला हो भनियो’, बैठकमा प्रचण्डकेन्द्रित टिप्पणी गर्दै एक पदाधिकारीले भने,‘अझ अध्यक्षको छोरीका भर्सनमा न्यूज आउँछन्। अध्यक्षले पार्टीको स्थिति केही ख्याल गर्नु पनि भएको छ र?’

उपमहासचिव हरिबोल गजुरेलले प्रचण्डको आलोचनात्मक हिसाबले टिप्पणी गरेका थिए। सरकारमा रहेर भनेको काम नै गर्न नसक्ने स्थिति भएपछि आफूले राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको बताएका थिए। 

माओवादी विभाजन र उत्तराधिकारीका विषयमा पनि बैठकमा चर्चा भएको उच्च स्रोतले क्यानडा नेपाललाई जानकारी दियो। ‘यस्तो पाराले पनि कहिँ उत्तराधिकारी तयार हुन्छ? जनतामा के भनेर जाने? पार्टीको क्रियाशिलता खोई भन्ने विषयमा कुराकानी भयो’, उच्च स्रोतले भन्यो,‘प्रचण्डको पहिलो पटक प्रधानमन्त्रीको कार्यकाल असफलताको काण्डले हामी कहाँसम्म पुग्यौं भन्नेसम्मको चर्चा भयो।’

नियमित अवकाशमा जान चार महिना मात्र बाँकी रहँदा प्रधानसेनापति रहेका रुक्माङ्गत कटवाललाई त्यसबेला हटाउने निर्णय पनि माओवादीको अहिलेको स्थितिमा पुग्ने कारण, क्षतिको प्रस्थानविन्दु भएको चर्चा चलेको थियो।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्