Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेन्द्र भन्छन्- नेताहरू भाषणमा समय बर्बाद गर्छन्, काम गरेर देखाऊँ

बिहीबार, साउन १७, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।

बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् ।


‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’


उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए । ५ मिनेटको समयमा आफ्ना भनाइ सकेका उनले बोल्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए ।

शाहले राजनीतिक दलका पदाधिकारी र जनप्रतिनिधितर्फ लक्षित गर्दै धेरै बोल्नेभन्दा समयमै काममा ध्यान दिनु राम्रो हुने बताए ।

‘म धेरै बोल्न चाहन्न, म अब निस्किन लागेको । उहाँहरूले बोल्दिनु भनेर केही कुरा राखेँ । बोल्नेभन्दा काम गर्नुपर्छ भन्ने हो । उहाँहरूलाई गाह्रो छ, (दलका नेतातर्फ लक्षित गर्दै) एउटा लामो लिस्ट पनि बोल्नुपर्दो रहेछ’, उनले भने, ‘जिल्ला सभापतिदेखि महाधिवेशन प्रतिनिधिदेखि लिएर सबैको नाम लिँदालिँदा उहाँहरूको समय जाँदोरहेछ । त्यसोभन्दा पनि अब काममै समय दिऊँ ।’

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्