थाई एयरले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने
काठमाडौँ- बैंकक मुख्यालय भएको थाई एयर एसियाले बैंकक-भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।
थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको हो ।
५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जीएसए) युनिभर्सल ट्राभल रहेको छ । यसअघि हितबहादुर तामाङ पर्यटनमन्त्री हुँदा थाई एयरले उडानका लागि आवेदन दिएको थियो । २० वर्षअघि स्थापना भएको यो लोकस्ट करियर अन्तर्गतको वायुसेवा कम्पनीले बैंककबाट भारत, हङकङ, चीन, कम्बोडीया, भियतनाम, इन्डोनेशिया, लावस, श्रीलंका लगायतका एशियाली मुलुकमा उडान गर्दै आएको छ ।
भैरहवामा अहिले सातामा एउटा नेपाल वायुसेवा निगमको उडान हुने गरेको छ । काठमाडौँबाट मलेसिया जाने निगमको जहाज हरेक मंगलबार फर्किँदा क्वालालमपुरबाट भैरहवा हुँदै काठमाडौँ आउने गरेको छ ।
निगम अघि भैरहवामा हिमालय एयरलायन्स भैरहवा-मलेसिया र कुवेतको जजिरा एयरलाइन्सले कुवेतबाट उडान गरेका थिए । हाल यी दुवैले उडान स्थगन गरेका छन् ।