Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखराको जग्गा विवाद सल्टाउन नापी र मालपोत कार्यालयलाई मन्त्रीद्वयको निर्देशन

बिहीबार, साउन १७, २०८१

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कास्कीको पोखरा महानगरपालिका वडा नं १७ अन्तर्गत लामातहरामा लामो समयदेखि हाल साविक हुन नसकेको जग्गा सम्बन्धी समस्याको समाधानका लागि सरोकारवालासँग सामूहिक छलफल गरेर गरी तत्काल समस्या समाधान गरी गर्न निर्देशन दिएका छन् ।

साविक नक्साको त्रुटिका कारण आफूले खरिद गरेको जग्गा हालसाविक गरी दर्ता गर्न नपाउँदा ३५० भन्दा बढी घरधुरीले आफ्नो जग्गा खरिदबिक्री गर्न, बैंकमा धितो राख्न समस्या भएको स्थानीयले मन्त्री समक्ष गुनासो राखेका थिए ।गुनासो सुनेपछि १३२ रोपनी ५ आना जग्गाको समस्या समाधानका लागि सरोकारवालासँग सामूहिक छलफल गरेर तत्काल समस्या समाधान गर्न मन्त्रीद्वयले निर्देशन दिएका हुन् ।

भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक कृष्णाप्रसाद सापकोटा, नापी विभागका महानिर्देशक प्रकाश जोशी, जिल्ला मालपोत र नापी कार्यालय कास्कीका प्रमुखहरू, स्थानीयवासी र सरोकारवालासहित बसेको सामूहिक बैठकले विभिन्न विकल्पमाथि छलफल गर्दै ऐन, कानून र प्रावधानमा टेकेर निकास निकाल्न सहमत भएका हुन् ।

छलफल कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विगत लामो समयदेखि हाल साविक हुन नसकेको, आफूले लामो समयदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा प्राप्त नभएकोजस्ता भूमिसम्बन्धी समस्या समाधानका मन्त्रालयले कानुनी र संस्थागत प्रबन्ध गरी कार्यलाई तीव्रता दिएको बताए ।

भूमि समस्या समाधान गर्न तत्काल भूमि समस्या समाधान आयोग गठन गरी देशभरकै भूमिहीन सुकुम्वासीको समस्या स्थायीरुपमा समाधान गर्ने मन्त्री अधिकारीको भनाइ छ । त्यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नागरिकलाई अन्याय गर्ने हक राज्यलाई नहुने भन्दै ऐन कानुनमा भएको अस्पष्टता र कानुनी जटिलता हटाएर तत्काल समस्या समाधान गर्न आग्रह गरिन् ।

कार्यक्रममा भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक र नापी विभागका महानिर्देशकले पोखरामा देखिएको हाल साबिकको समस्या देशका अन्य भूभागमा समेत रहेको र मन्त्रीहरूको निर्देशन बमोजिम स्थानीय सरोकारवालासँग छलफल गरी तत्काल समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

यो समस्याको निरूपण हुने भएपछि वर्षौंदेखि लालपुर्जाको स्वामित्व महशुस गर्न नसकेका पोखरा महानगरपालिका वडा नं १७ लामतहराका स्थानीय हर्षित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्