Nic Ad Nic Ad
Nic Ad Nic Ad

अब १२ कक्षा पास नगरी नर्सिङ पढ्न नपाइने

शुक्रबार, साउन १८, २०८१

काठमाडौं - नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ। चिकित्सा शिक्षा आयोगले यो विषयमा अध्ययन गरिरहेको छ।

एउटा कार्यदलले दिएको प्रतिवेदन पारित गरेर आयोगले नर्सिङ शिक्षा अध्ययन अध्यापनसम्बन्धी मापदण्ड निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ। आयोगका सदस्यसचिव कृष्णप्रसाद काप्रीका अनुसार मापदण्डलाई अन्तिम निष्कर्षमा पुर्‍याउन यससँग सम्बन्धित विभिन्न निकायसँग छलफल भइरहेको छ।

नर्सिङ शिक्षाको दायरा फराकिलो बनाउने विषयमा अध्ययन गर्न गत वर्ष आयोगले नेपाल नर्सिङ काउन्सिलका अध्यक्ष प्रा। सरला केसीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले १२ कक्षा उत्तीर्ण गरेपछि मात्रै नर्सिङ विषयको पढाइ सञ्चालन गर्न उपयुक्त हुने सुझावसहितको प्रतिवेदन दिएको थियो ।

कार्यदलले नर्सिङ पढाइसम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासबारे पनि अध्ययन गरेको थियो । ‘धेरै विदेशी मुलुकमा कक्षा १२ उत्तीर्ण गरेपछि मात्रै नर्सिङको पढाइ हुने गरेको अध्ययनबाट देखिएको छ’, आयोगका सदस्यसचिव काप्रीले भने, ‘नेपालमा पनि सोही व्यवस्था लागू गर्नु पर्छ भन्ने कोणबाट आयोगले आवश्यक गृहकार्य गरिरहेको छ।’

केसी संयोजक रहेको कार्यदलले दिएको प्रतिवेदनलाई आयोगले गत चैत ९ गते पारित गरेको थियो । सोही प्रतिवेदन पारित गरेपछि मापदण्ड निर्माण अघि बढाएको काप्रीले जानकारी दिए। उनका अनुसार नयाँ व्यवस्था कार्यान्वयनमा आएमा १२ कक्षापछि तीन वर्षको नर्सिङ विषयको पढाइ हुन्छ । नयाँ व्यवस्था अनुसार जुनसुकै विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले पनि नर्सिङ पढ्न पाउने छन्।

अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्नेले नर्सिङ पढ्न पाउने व्यवस्था छ। प्रमाणपत्र तहमा नर्सिङ उत्तीर्ण गर्नेले ब्याचलर अफ नर्सिङ (बीएन) अध्ययन गर्ने बाटो खुल्छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्