Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमको लगातार दोस्रो जित

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- भुटानको थिम्पुमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा महिलातर्फ नेपाली महिला टोलीले लगातार दोस्रो जित हात पारेको छ ।

थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपाली महिला टोलीले घरेलु टोली भुटानलाई २-० सेटमा हरायो । कमला पुन र मनीषा चौधरीको नेपाली जोडीले भुटानी जोडी लेकेन र डेछेनलाई २१-५, २१-४ ले हरायो ।

पहिलो खेलमा नेपालले उज्वेकिस्तानलाई २१-१७, २१-१५ ले हराएको थियो । नेपाली महिला टोलीले आजै समूहको अन्तिम खेलमा माल्दिभ्ससँग खेल्दैछ ।

पुरुषतर्फ नेपालले शुक्रबार पहिलो जित निकालेको छ । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले भुटान बी टिमलाई २१-१४, २१-१४ ले पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो । नेपालले आजै उज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।

समूह चरणका सबै खेलहरू आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरू शनिबार हुनेछन् ।

तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक-एक टोली सहभागी छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्