Nic Ad Nic Ad
Nic Ad Nic Ad
राजनीतिक चरित्र

राजनीतिमा चाउरिएका घनश्याम

शुक्रबार, साउन १८, २०८१

काठमाडौं– धार्मिक ग्रन्थानुसार घनश्यामलाई रामको अर्को प्रारुपका रुपमा व्याख्या गरिएको छ। सरयू नदीमा दुई ढुङ्गाको घर्षण गराई नाउजसरी आफ्ना बुवादेखि अन्यलाई पार लगाएको उनको कथा धेरैले सुन्ने गरेका छन्। 

ग्रान्थिक कथामा त्यो चमत्कारको विषय चर्चा भए पनि नेपालको राजनीतिमा भने घनश्याम नाम गरेका नेताले चमत्कारका कुरा त नगरेका होइनन् तर चाउरिन बाध्य भए। 

हो, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल राजनीतिक, सैद्धान्तिक र कम्युनिस्ट विचारधाराको विषयमा धाराप्रवाह प्रवचन दिन सक्षम भए पनि पार्टीको नेतृत्व प्रतिस्थापनको विषयमा भने चुकिरहेका छन्। 

एमालेमा रहँदा नेतृत्व परिवर्तन र युवा पुस्ता अगाडि आउनुपर्ने अडान भुसालको थियो। उनी यस अभियानमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागि नै रहे। तर, ओलीले कर्नरमा राख्दै गत निर्वाचनमा टिकटसम्म नदिएपछि स्वतन्त्र उम्मेदवारी लडे। यहि वैचारिक गतिमा भुसाल एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा बेदुराम भुसाललाई रिप्लेस गर्दै महासचिव भए। 

महाधिवेशनमा नेतृत्वमा दाबी गरेका उनी आफ्नो अभियानमा चाउरिए। नेतृत्वमा माधवकुमार नेपालको निरन्तरता हुने बहुमत भएपछि उनले महासचिवमा नै चित्त बुझाएर बस्नु परेको छ। महाधिवेशनपछि चाउरिएर हार खाएका भुसालले सार्वजनिक मञ्चमा भने,‘यस पटक मैले सकिन!’
उनले नेकपा एकीकृत समाजवादीमा महासचिवमा दोहोरिने निर्णयमा ल्याप्चे लगाए पनि एमालेमा रहँदा उपाध्यक्ष पदमा नै पराजित भएका थिए।

एमालेको १०औं महाधिवेशनमा भुसाल उपाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचन गराउने मध्यका एक हुन्। तर, उनी पराजित भए। 

अध्यक्षमा उम्मेदवारी दिएर पराजित भएका भिम रावल भने एमालेमा नै रहेका छन्। यी दुवै जना पार्टी विभाजनको अवस्थामा पुग्दा एकीकरणका लागि माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई मिलाउने १० मध्यका दुई भाई हुन्। जसले १० बुँदे सहमतिको खाका तयार पारेका थिए। 

‘महाधिवेशन प्रतिनिधिको निर्णयको खिलाफ त केही हुने होइन, चाहेर पनि नेतृत्व परिवर्तन गर्न असम्भव हुँदा निहुँ खोज्ने नेतामा पर्नुभयो घनश्यामजी’, एमालेका एक नेता भन्छन्,‘उहाँको विद्वताको एमालेमा खाँचो थियो तर उहाँ आफैं अलग हुनुभएको हो, कसैले अलग गरेको होइन।’

नेकपा एकीकृत समाजवादीमा भने उनले बरियताको विषयमा सम्झौत गरेका थिए। अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछिको बरियतामा भुसालले सम्झौता गरेका हुन्। 

एमाले महाधिवेशनमा निर्वाचन नै गराएका भुसालले एकीकृत समाजवादीको हकमा भने सहमति र नेतृत्वले तयार पारेको पदाधिकारीलाई नै स्वीकार्न पुगे। 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १४:१४
प्रतिक्रिया दिनुहोस्