Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा महानगरद्वारा रासायनिक मलको मूल्य निर्धारण

शुक्रबार, साउन १८, २०८१

पोखरा - पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षका लागि रासायनिक मलको मूल्य निर्धारण गरेको छ । महानगरपालिका मल वितरण व्यवस्थापन समितिको आजको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।

मल वितरण व्यवस्थापन समितिका संयोजक समेत रहेका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डिएपी र पोटासको मूल्य तोकेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन् ।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ । मल बिक्रेताले प्लास्टिक झोलाको मूल्य प्रतिकिलो बढीमा दुई रुपैयाँ थप लिनसक्ने निर्णय गरेको छ ।

पोखरा महानगर कृषि शाखामा सूचीकृत तथा बिक्री वितरण गर्न छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री वितरण भइरहेको छ । मल बिक्री वितरणका लागि गत आव २०८०/८१ मा मल बिक्रेताले बिक्री गरेका आधारमा कोटा निर्धारण गरिएको प्रमुख कडरियाले बताए ।

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको र महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई उपलब्ध गराउनसमेत अनुरोध गरिएको छ । सहज र सुपथ मूल्यमा मल बिक्री गरे/नगरेको अनुगमन गरिने पोखरा महानगरका उपप्रमुख गुरुङले बताए ।

उनले भने, “महानगरमा सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ । किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ । अघिल्ला वर्षहरुमा पनि हामीले नियमित अनुगमन गरेका थियौँ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौँ ।” महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले अनुुदानको मल बढी मूल्यमा बिक्री गर्नेलाई कारबाही गरिने बताए ।

कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको जानकारी दिए । उनले रासायनिक मलको अनुुपात विश्लेषण गर्दा पोटासको प्रयोग कम भएको बताए । उनका अनुसार यसबारेमा किसानलाई सचेतना अभिवृद्धिको खाँचो छ ।

पोखरा महानगरमा गत आवमा युरिया एक हजार दुई सय २१ मेट्रिक टन, डिएपी छ सय ४५ मेट्रिक टन र पोटास ९८ दशमलव ९५ मेट्रिक टन गरी कूल एक हजार नौ सय ६५ दशमलव दुई मेट्रिक टन खपत भएको महानगरले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्