Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ- सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घ बहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका हुन् । मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजेभित्र दाबी पेस गर्न समय दिइएको छ ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए ।

राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

समर्थन फिर्ता लिएको ३०औँ दिनमा शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।

काँग्रेस र एमालेबीच भएको भागबन्डा अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले गर्ने भएको छ ।

काँग्रेसमा मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन् ।

मुख्यमन्त्रीका चारैजना आकांक्षीसँग छुट्टछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् ।

देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:४२
प्रतिक्रिया दिनुहोस्