Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छ : मन्त्री खड्का

शुक्रबार, साउन १८, २०८१

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन् ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले सरकार सञ्चालनको दायित्वसँगै जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्ने बताए ।

“मुलुकको आर्थिक विकास ऊर्जा र सिँचाइ क्षेत्रबाट सम्भव छ, त्यसको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ,” उनले भने। जिम्मेवारी हेरफेर हुँदैमा कर्मचारीले कुनै चिन्ता लिनुपर्ने कारण नभएको उनको भनाइ थियो ।

ऊर्जामन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर स्थायी सरकार बनेकाले अव जनताले परिवर्तन भएको अनुभूती लिनेगरी काम गर्नुपर्ने उल्लेख गरे । उनले मुलुकको आवश्यकतालाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले वर्षायाम सुरु भएकाले देशैभर बाढी र पहिरो जाने भएकाले त्यसको अध्ययन आवश्यक रहेको उल्लेख गरे ।

“हामी मुलुक कसरी बनाउन सकिन्छ, त्यसतर्फ लागौँ, ऊर्जा र सिँचाइ क्षेत्रको विकास नै हाम्रो मुख्य प्राथमिकता हो,” उनले भने। जनतालाई बचाउन सकेमात्र देश बच्ने उनको भनाइ थियो ।

मन्त्रालयका सचिवद्वय गोपालप्रसाद सिग्देल र सरिता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्