Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्जिनियरको चुनावमा छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता

शुक्रबार, साउन १८, २०८१

काठमाडौँ - इन्जिनियरहरूको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा दलगत तालमेल नहुने भएको छ ।

शुक्रबारका लागि तोकिएको उम्मेदवारी मनोनयनमा अध्यक्षका लागि ६ जनाको उम्मेदवार परेको निर्वाचन समितिका संयोजक पवनकुमार भट्टराईले जानकारी गराए ।


काँग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन), एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पिन), माओवादी केन्द्र पक्षधर नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन), एकीकृत समाजवादीको समाजवादी निकट इन्जिनियरिङ नेपाल (सिन), नेमकिपा निकट इन्जिनियर समाज नेपालले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता पक्षमा रहेका काँग्रेस–एमाले निकटका इन्जिनियरका संस्थाले आआफ्नो प्यानल खडा गरेका छन् । काँग्रेस पक्षधर सिडेनबाट सुवासचन्द्र बराल र एमाले निकट पिनबाट विष्णुप्रसाद पाण्डे अध्यक्षको उम्मेदवार बनेका छन् ।

काँग्रेस एमाले सत्तामा रहेकाले चुनावी सहकार्य गर्ने अनौपचारिक प्रस्ताव आए पनि सिडेनले अस्वीकार गरेको काँग्रेस निकट उम्मेदवार बरालले बताए । 

विपक्षी दलहरू निकट इन्जिनियरहरुको संस्थाले पनि संयुक्त उम्मेदवार खडा गर्न सकेनन् । माओवादी केन्द्र निकट निओनबाट दीपेश श्रेष्ठ, एकीकृत समाजवादी निकट सिनबाट नन्द बन्जाडे, नेमकिपा निकट इन्जिनियरको संस्थाबाट राजेन्द्रप्रसाद हाडाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

हाडा यसअघि उम्मेदवार थिए । जनमत र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावी तालमेल भएको छ । ती दुई दलबाट अध्यक्षमा संयुक्त उम्मेदवारी रामेश्वरप्रसाद कलवारले दिएका छन् ।

प्रमुख दुई दल सत्ता पक्ष भएको बेला चुनावी तालमेल नगरी इन्जिनियरहरु प्रतिस्पर्धामा उत्रने भएका छन् । काँग्रेसबाट अध्यक्षको आकांक्षीमा टपेन्द्रबहादुर खड्का, सुवासचन्द्र बराल, प्रकाश अर्याल थिए ।

ती मध्येबाट बरालको अध्यक्षमा उम्मेदवारी परेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्