Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोकिएन कालीगण्डकी दोहन

शनिबार, साउन १९, २०८१

गलकोट (बागलुङ)- यही साउन १७ गते रातको १०ः१५ बजे कालीगण्डकी नदीको बागलुङतर्फ धमाधम नदीजन्य पदार्थको दोहन भइरहेको थियो । 

पाँच टिपरले धमाधम नदीबाट निकालिएको बालुवा ओसारेर जम्मा पारेका थिए भने एउटा स्काभेटरले नदीको मध्यभागमै पुगेर नदीबाट बालुवा निकाली रहेको थियो । नदीजन्य पदार्थको अवैध दोहन बिहीबार मात्रै होइन पछिल्लो समय नियमित जस्तै भइरहेको छ । दिनमा सुत्ने र रातमा जाग्ने कालीगण्डकी दोहन गर्ने प्रहरी तथा प्रशासनलाई चुनौती दिई अवैध रूपमा दोहनमा सक्रिय देखिएका छन् । नदीजन्य पदार्थ रातिमा सङ्कलन गरे पनि भण्डार भने अघि पछिको समयमा देख्न सकिँदा प्रहरी प्रशासन र स्थानीय निकाय मौन देखिएका छन् । 

अहिले दोहन भइरहेको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङ, भाटेखोला बगरमा तीन वर्ष यता स्थानीय तहले सर्वोच्चको आदेश मान्दै ठेक्का लगाउन सकेको छैन । यस्तै बागलुङतर्फकै खनियाँघाटमा समेत दोहन रोकिएको छैन । अवैध नदी दोहन भइरहँदा स्थानीय सरकारलाई राजश्व गुमेको छ भने क्रसर व्यवसायीलाई मनलाग्दी गर्न छुट भएको छ । 

म्याग्दी, पर्वत र बागलुङ भएर बग्ने पवित्र कालीगण्डी दोहनले शालग्राम शिलासमेत सङ्कटमा परिसकेका छन् । पर्वत खण्डमा नदीजन्य पदार्थको बढी दोहन भइरहेको सन्दर्भमा पछिल्लो समय बागलुङतर्फको सहस्रधारा पारीको भाटेखोला र खनियाँघाट क्षेत्रमा दोहन भइरहेको छ । 

नदीजन्य पदार्थको नियमन गर्ने निकाय स्थानीय तह भए पनि सुरक्षाका हिसाबले प्रहरी चनाखो रहँदा समेत दोहन रोक्न समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । उनले दोहन भइरहेको सूचना पाउन साथ परिचालन भएका प्रहरी त्यहाँ पुग्दा दोहन गर्नेहरू भाग्ने गरेको बताए । बिहीबार दिउँसो खनियाँघाटबाट दोहनमा संलग्न एक टिपरसहित तीन जनालाई नियन्त्रणमा लिइएको कँडेलले जानकारी दिए । 

उनले खनियाँघाट र भाटेखोलामा अवैध दोहन भइरहेको प्रमाण अनुगमनमा समेत पाइएकाले खनियाँघाटमा उत्खनन गरिएको बालुवा नगरपालिकालाई लिलाम गर्नका लागि प्रक्रिया अगाडि बढाइएको कँडेलले जानकारी दिए । 

“कालीगण्डकी नदीको दोहन रोक्न प्रहरी प्रशासन सक्रिय छ, तर प्रहरीको आँखा छलेर मध्यरातमा कालीगण्डकी दोहन भइरहेको पाएका छौँ”, कँडेलले भने, “सूचना प्राप्त गर्दा साथ प्रहरी त्यहाँ पुग्दा दोहनकर्ता भागिसकेको हुन्छ, स्थानीय तहले ठेक्का लगाउन नसक्ने, राजश्व गुम्ने अनि दोहन नरोकिने अवस्थाको अन्त्य गर्नका लागि प्रहरीले थप रणनीति अपनाएर नदी दोहन भइरहेको स्थानमा सादा पोषाकमा प्रहरी पठाउँछौँ ।”

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । मध्य बर्खामा नदीजन्य पदार्थ सञ्चित गर्ने समयमा नै कालीगण्डकी नदीको दोहन भइरहँदा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समिति एकले अर्कालाई दोष दिएर पन्छिने गरेको पाइएको छ । 

कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ निकाल्न नपाइने सर्वोच्च अदालतको आदेशपछि म्याग्दी, बागलुङ र पर्वत खण्डको क्षेत्रमा नदी उत्खननका लागि स्थानीय तहले ठेक्का लगाउन सकेका छैनन् । अदालतले कालीगण्डकी नदी दोहन रोक्ने आदेशपछि यहाँका क्रसर व्यवसायीले रातमा र सरोकारवालालाई प्रभावमा पारेर दिउँसै नदीजन्य पदार्थ उत्खनन गरेको पाइन्छ । 

नदी दोहन रोक्नका लागि पटक–पटक नागरिकस्तरबाट भइरहेका प्रयासलाई सम्बन्धित निकायले बेवास्ता गरेको पाइएको छ । प्रहरी प्रशासन र स्थानीय तहको मौनताका कारण दोहनले प्रश्रय पाइरहेको अधिवक्ता राम शर्माले बताए । दोहन रोक्नका लागि बागलुङको प्रहरीले सक्रियता नदेखाएको उनले बताए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्