Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा महानगरमा सञ्चालित सार्वजनिक बसको प्रदूषण जाँच

शनिबार, साउन १९, २०८१

पोखरा- पोखरा महानगरपालिकाभित्र सञ्चालित सार्वजनिक यातायातको  प्रदूषण जाँच सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालयले शनिबार पोखरा यातायात प्रालि अन्तर्गत सञ्चालित बसहरूको प्रदूषण  परीक्षण गरेको हो । 

मापदण्डभन्दा बाहिर रहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सवारी साधनहरूको प्रदूषण जाँच  सुरु गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख अशोक गौतमले जानकारी दिए ।  उनका अनुसार अन्य दिनमा प्रदूषण परीक्षका लागि भीडभाड हुने भएकाले सार्वजनिक बिदाका दिनमा समेत सेवा सञ्चालन गरिएको हो ।

पोखरा यातायात प्रालअन्तर्गत सञ्चालनमा रहेका तीन सय ७८  बसको प्रदूषण परीक्षण गरिने कार्यालयले जनाएको छ । प्रदूषण परीक्षणमा अनुत्तीर्ण सवारीहरूलाई पुनः मर्मतका लागि पठाइने  र उत्तीर्ण भएपछि मात्र सञ्चालन अनुमति प्रदान गरिने कार्यालय प्रमुख गौतमले बताए ।

'पोखरा पर्यटकीय राजधानी समेत हो । यहाँ गाडीबाट निस्कने धुँवा बढी हुने गरेको स्थानीयवासीको गुनासो आएपछि कडाइका साथ जाँच गर्न लागेका हौँ । आज पोखरा यातायात प्रालिका बसहरूको यान्त्रिक परीक्षण र प्रदूषण जाँचपासको काम गरेका छौँ । आगामी दिनमा निजी विद्यालयद्वारा सञ्चालित बसहरूको समेत परीक्षण गछौँ ।' कार्यालय प्रमुख गौतमले भने । जाँचपास गर्दा बढी प्रदूषण देखाएका गाडीलाई तत्काल मर्मत र सर्भिसिङका लागि पठाउने गरिएको कार्यालयका मेकानिकल इन्जिनियर अब्दुल्ला हवारीले बताए ।

बसहरूको सर्भिसिङपछि बसको अनुत्तीर्ण हुने दर कम भएको उनले बताए । कार्यालयले प्रदूषण बढी भएका तथा जाँच अनुत्तीर्ण भएका गाडी सञ्चालनमा रोक लगाउने जनाएको छ । इन्जिनियर हवारीका अनुसार परीक्षण मेसिनले गाडीको धुँवाको ‘डेन्सिटी’ हेर्ने र ३० प्रतिशतसम्म आउने उत्तीर्ण र त्योभन्दा बढी आउने अनुत्तीर्ण हुने जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्