Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनलाई विद्यासुन्दरको चेतावनी- नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

शनिबार, साउन १९, २०८१

काठमाडौँ -  काठमाडौँ महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।

नेपाल खेलकुद महासंघ काठमाडौँले शनिबार आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले महानगर मेयर बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए ।
 

पूर्वमेयर शाक्यले नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने चेतावनी दिए । अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुन नहुने उनको भनाइ थियो ।

शाक्यले आफू काठमाडौँ महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरू गरेको दाबी गर्दै आफू मेयर रहँदासम्म काठमाडौँ महानगरपालिकाको हैसियत सरकारले ९औँ स्थानमा राखेको भए पनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औँ स्थानमा पुगेको बताए ।

‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै# लिने । गाली गरेर जस सबै आफूले लिने, अपजस सबै अरूलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनुपर्दैन । हामी काठमाडौं महानगरको मेयरको रूपमा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो । त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९औँ स्थानमा राखेको थियो । अहिले झारेर १७ औँ स्थानमा पुर्‍याएको छ’, उनले भने, ‘हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिकाभन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’

पूर्वमेयर शाक्यले स्थानीयको इच्छाविपरीत कामनपाले काम गरिरहेको बताए । उनले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए ।

पूर्वमेयर शाक्यले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए । उनले नगर प्रहरी अनावश्यक रूपमा थपिएको आरोप लगाए ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्