Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय भलिबल खेलाडीलाई मासिक तलब ५ हजार

शनिबार, साउन १९, २०८१

काठमाडौं -नेपाली राष्ट्रिय पुरुष तथा महिला भलिबलका समान १२ खेलाडीले मासिक ५ हजार रुपैयाँ तलब पाउँछन् । अमेरिकामा बस्दै आएका पूर्वखेलाडीले उठाएको चन्दाबाट संघले उनीहरुलाई तलब दिन थालेको ११ महिना भएको छ ।  यो तलबले महिनाभरि चना र अण्डा खान पनि नपुग्ने खेलाडीहरु बताउँछन् ।

२०७४ जेठमा सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि धेरैको आशा थियो अब भलिबलका पूर्वाधार बन्छन् र खेलकुद गतिविधि पनि बढ्छन् । तर, राष्ट्रिय खेलको मान्यता पाएको ७ वर्ष पुरा हुँदासम्म भलिबलको अवस्थामा खासै सुधार भएको छैन । 

नेपाली भलिबल टिमका पूर्वकप्तान इमबहादुर रानामगरले पूर्वाधार र खेलाडीमा लगानीबिना नेपाली भलिबल माथि उठ्न नसक्ने बताए । खेलाडीलाई तलब दिने भलिबल संघ चौथो हो । यसअघि फुटबल र क्रिकेट खेलाडीले मासिक तलब पाइरहेका छन् ।  राष्ट्रिय पुरुष टोलीका कप्तान मानबहादुर श्रेष्ठसहित रविन चन्द, विशाल विक, दुर्गाबहादुर खड्का, सफल विक, मनिष मानन्धर टेकराज अवस्थी, धीरजकाजी बस्नेत, हेमन्त मल्ल, लोकेन्द्र गिरी, सम्राट भण्डारी र विनोद चन्द छन्। महिला टोलीमा कप्तान अरुणा शाहीसहित सरस्वती चौधरी, कामना विष्ट, कविता भट्ट, जानकी भण्डारी, सङ्गम महतो, निरुता ठगुन्ना, प्रतिभा माली, सलिना श्रेष्ठ, सफिया पुन, पुनम चन्द र उषा भण्डारी छन्।

नेपालमा क्रिकेट, फुटबल र भलिबल सर्वाधिक लोकप्रिय खेल हुन् । क्रिकेटको सफलताको उडानले खेलाडीको तलब अन्य खेलसँग तुलना गर्न नसकिने भइसकेको छ । क्रिकेटमा ए ग्रेडका पुरुष खेलाडीले मासिक १ लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउँछन् ।

ग्रेड बी का पुरुष खेलाडी ७० हजार, सीले ५५ हजार र डीमा पर्नेले ३५ हजार पाउँछन् । महिलातर्फ बी ग्रेड ३५, सीका ३० हजार र डीमा पर्नेले २५ हजार रुपैयाँ मासिक तलब पाउँछन् । क्रिकेटमा पुरुषतर्फ सबैभन्दा कम इमर्जिङ खेलाडीले २५ र महिलातर्फ २० हजार रुपैयाँ मासिक तलब पाउँछन् ।

फुटबलमा महिला र पुरुष टोलीले समान १८ हजार पाउँछन् । तर क्रिकेट र फुटबल भन्दा भलिबल धेरै पछाडि छ । विभागीय टोली र स्थानीय प्रतियोगिताको भरमा जेनतन नेपाली भलिबल यो अवस्थामा आएको छ । 

 

 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्