Nic Ad Nic Ad
Nic Ad Nic Ad

लुक्ला विमानस्थल खतरा छैन : प्रधानमन्त्री

आइतबार, साउन २०, २०८१

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले लुक्ला विमानस्थल सुरक्षित रहेको बताएका छन् । आफू धेरै पटक विमान चढेर लुक्ला गएकाे भन्दै उनले लुक्ला विमानस्थलमा कुनै खतरा नभएको बताएका हुन् ।


विश्वका छानिएका ‘भ्लगर’हरुको लुक्ला विमानस्थलदेखि सगरमाथा आधार शिविरसम्मको साहसिक यात्रामा आधारित रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ हिमालयज’को प्रिमियर शो कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।


प्रधानमन्त्री ओलीले भने, ‘म आफैं धेरै पटक विमान चढेर लुक्ला पुगेको छु, विमानस्थल खोँचमा रहेको र धावनमार्ग सानो भएपनि त्यहाँ दैनिक ८५ उडान हुन्छन् । अनुभवी पाइलटका कारण अहिलेसम्म कुनै दुर्घटना भएको छैन । त्यसकारण लुक्ला विमानस्थलमा कुनै खतरा छैन ।’ उनले विमानस्थल सुरक्षित भएको भन्दै यसको जिम्मा आफूले लिने पनि बताए । सोलुखुम्बु जिल्लामा पर्ने यो विमानस्थल विश्वको १० डेन्जरर्स विमानस्थलमध्येमा पर्छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले प्राकृतिक सौन्दर्य दृश्यावलोकनका लागि नेपालको भ्रमण गर्न विश्वका पर्यटकलाई आह्वान समेत गरे । उक्त रियालिटी शोका माध्यमबाट हिमाल र प्राकृतिक सौन्दर्यबारे विश्व जगतलाई चिनाउन थप मद्दत पुग्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा सगरमाथासँगै चर्चा गर्न लायक हिमालहरु कञ्चनजङ्गा, मकालु, चोयु, मनास्लु, अन्नपूर्ण, धौलागिरीलगायत रहेको बताए । प्रिमियर शो हेर्न प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपालस्थित अमेरिकी राजदूतावासका अधिकारी, ख्यातिप्राप्त कलाकारलगायत उपस्थित थिए ।
श्री गुरुङद्वारा निर्देशित उक्त रियालिटी शोमा नेपालसहित ६ देशका १९ देखि ३० वर्ष उमेरका ११ युवा भ्लगर सहभागी छन् ।


 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्