Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्थन

प्रचण्डबारे नयाँ ब्याख्या– माओवादीदेखि भावनावादीसम्म, गुह्य यथार्थचाहिँ यस्तो छ

आइतबार, साउन २०, २०८१

काठमाडौं– विश्वासको मत नपाउने ‘विश्वासको मत लिने’ बेला निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको भाषणले निक्कै चर्चा पायो। 

त्यहाँमाथि उनले सत्ता साझेदार रहेका एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गरेको टिप्पणीले अधिक चर्चा कमायो। 

‘कांग्रेससँग मिलेर हुन्छ? कहाँ कांग्रेस। कम्युनिस्ट मिल्नुपर्छ। एकता गर्नुपर्छ भनेपछि मैले कित्ता बदलें, मिठा–मिठा कुराबाट लट्याइएँ’, प्रचण्डले भनेका थिए,‘एमालेका अध्यक्षजत्ति यहाँ कोही पनि छैन। म अलिक भावुक मान्छे परें। हो त नि भन्ने ठानें।’

राजनीतिक वृत्तमा प्रचण्डको यो भनाई र प्रस्तुती केही गहिरो थियो भन्ने चर्चा मात्र भएन, हाँसोको फोहोरा छुटाउने प्रुहसन जस्तो पनि थियो भन्ने टिप्पणी भएका थिए। 

तर आइरिस कवि ओस्कार वाइल्डले उहिले नै भनेका थिए,‘म आफ्नो भावनाको दयामा बस्न चाहन्न। म तिनीहरूलाई प्रयोग गर्न चाहन्छु, तिनीहरूको आनन्द लिन, र तिनीहरूमाथि हावी हुन चाहन्छु।’

सम्भवतः प्रचण्डले कवि वाइल्डको यो भनाईचाहिँ सुनेका थिएनन् होला। माओवादीको पुरानै रोगजस्तै प्रचण्डको यो भनाई नै अन्य नेताको पनि जिब्रोमा झुन्डिएको रहेछ। सबैले ओलीलाई दोष दिँदै माओवादलाई स्थापित गराएको भनिएका प्रचण्डलाई नयाँ उपनामको मोडल दिए– भावनावादी। 

प्रतिनिधि सभामा प्रचण्डको सबैभन्दा बढी प्रतिरक्षा गर्ने सांसद माधव सापकोटाले भनेका रहेछन्,‘अध्यक्ष अलिक भावनावादी हुनुहुन्छ। ओलीले दिएको आश्वासनको भावनामा पर्नुभयो। ओलीले धोका दिने ठान्नुभएन।’

प्रचण्ड भावनावादी हुन् भन्ने कुरामा दुईमत नहुने विषयचाहिँ उनको सत्ताबाट बहिर्गमन मात्र होइन। यसलाई फरक कोणबाट पनि चर्चा गर्दा लायक हुनेछ। 

नेपालमा माओवादीले भन्ने गरेको ‘जनयुद्ध’ र अन्यले संज्ञा दिएको ‘द्वन्द्व’का मुख्य कारक प्रचण्ड हुन्। गुह्य तथ्य के हो भने गरिब जनताका छोराछोरी, स्कुले केटाकेटीदेखि प्रायःलाई मुक्तिको भावनामा बगाएर बन्दुक भिराउँदै मर्न र मार्न तयार पार्ने भावनात्मक खेलमा प्रचण्ड सफल भए।

खोक्रो राष्ट्रवादको नारा लगाउने भावना जागृत गराउँदै नेपालका लागि अमेरिकी राजदूत जेम्स एफ मोरियार्टी माथि आक्रमण गराउने पनि प्रचण्ड नै हुन्। जसको गल्तीको माफी तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सार्वजनिक रुपमा माग्दै त्यो क्षण बिर्सिएर अमेरिका फर्किनका लागि मोरियार्टीलाई आग्रह गर्नु परेको थियो। 

शान्ति प्रक्रियामा आएपछि प्रचण्डले आफूविरोधी नेता या शक्तिलाई आक्रमण गराउने, कुटनीतिक नियोगका प्रमुखलाई जुत्ता हान्न लगाउने भावनाको जागरण पनि प्रचण्डले नै ल्याएका थिए। 

त्यसैले सोलुखुम्बु पुगेका बेला तत्कालिन नेपालका लागि भारतीय राजदूत राकेश सुदमाथि गोपाल किराँतीहरूको नेतृत्वमा आक्रमण गरिएको अहिले पनि चर्चा हुन्छन्। 

आफू सत्ताबाट ओर्लिनुपर्दा तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कट्वालविरोधी भावना होस् वा त्यसैबेला प्रधानमन्त्री बनेका माधवकुमार नेपालविरुद्धको घेराबन्दी गर्ने भावुकता पनि प्रचण्डले नै जगाएका थिए। 

आफू शक्तिमा नहुँदा भावनावादी र आन्दोलनको मोर्चामा उभिँदा माओवादी भन्ने प्रचण्डको यहि शैली नै यथार्थका रुपमा देखिँदै आएको छ। त्यसैले उनीबारे नयाँ ब्याख्यामा ‘माओवादीदेखि भावनावादी’सम्मका नयाँ–नयाँ संज्ञा र उपमा दिइने गरिएको पाइन्छ। 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्