Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीप र शैक्षिक प्रमाणपत्रलाई धितोको हक सिर्जना गर्ने सम्पत्तिमा राख्न प्रस्ताव

आइतबार, साउन २०, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सीप र शैक्षिक प्रमाणपत्रलाई धितोको हक सिर्जना गर्ने सम्पत्तिमा समावेश गर्ने प्रस्ताव गरेका छन् ।

सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन गरेर यो प्रावधान थप गर्नुपर्ने उनको प्रस्ताव छ ।प्रस्तावित विधेयकको दफा ३ को उपदफा ११ मा ‘धितोको सम्पत्ति भन्नाले धितोको हक सिर्जना गर्न सक्ने चल सम्पत्ति सम्झनुपर्ने’ उल्लेख छ ।

सापकोटाले सीपको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रलाई धितोको हक सिर्जना गर्न सक्ने सम्पत्तिमा समावेश गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

‘धितोको सम्पत्ति भन्नाले धितो हक सिर्जना गर्न सक्ने चल सम्पत्ति सम्झनुपर्छ । साथै मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्राप्त योग्यताको प्रमाणपत्र एवं सीपको प्रमाणपत्रलाई समेत जनाउँदछ’ सापकोटाको प्रस्ताव छ ।

शैक्षिक प्रमाणपत्रलाई धितो राखेर ऋण दिने विषय बजेटमार्फत कार्यान्वयनमा समेत आएको तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकिरहेको सन्दर्भमा ऐनमा नै व्यवस्थित  गरेर जानुपर्ने भएकाले संशोधन प्रस्ताव गरेको उनले बताए । यो विषयमा सत्तारुढ दलका सांसदहरूसँग समेत छलफल गरिने र पास गराउँदा सबैको हित हुने उनको विश्वास छ ।

माओवादी सांसद सापकोटाले संविधानको धारा २५ को उपधारा १ को स्पष्टीकरणमा उल्लेख भए अनुसार सम्पत्तिको परिभाषामा बौद्धिक सम्पत्तिबारे स्पष्ट उल्लेख गरिनुपर्ने प्रस्ताव पनि गरेका छन् ।

संविधानको धारा २५ मा सम्पत्तिको हक सम्बन्धी व्यवस्था छ । उपधारा १ मा ‘प्रत्येक नागरिकलाई कानुनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने हक हुने’ उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्