Nic Ad Nic Ad
Nic Ad Nic Ad

चेतावनीको शैलीमा एमाले नेताहरूलाई ओलीले भने- कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्नू

आइतबार, साउन २०, २०८१

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा पार्टीभित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन् ।

आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका उनले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरण गरेर पार्टी अघि नबढ्ने बताए ।

लोकतन्त्रको नाममा गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने ओलीले प्रष्ट पारे । ‘पार्टी ओरालो लाग्नु छ भने गुटबन्दीको बाटो समाउँछ पार्टीले’, उनले भने ।

अरूका पार्टीमा आफूले केही बताउन नचाहे पनि एमालेमा गुटबन्दी स्वीकार्य नभएको ओलीले प्रष्ट पारे । उनले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गरे ।

‘हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन, कुनै पनि हिसाबको गुटबन्दी स्वीकार्य छैन, गुटबन्दी पार्टीविरुद्धको कुरा हो’, ओलीले भने ।

एमाले विभाजित हुनको पछि पनि त्यही गुटबन्दी कारक बनेको ओलीले बताए । ‘लामो समयदेखि गुटबन्दी थियो, या त हामीले गुटबन्दी नियन्त्रण गर्नुपर्थ्यो, सकिएन भने विभाजनमा जानु पर्थ्यो, हाम्रो पार्टी त्यस्तै भयो’, ओलीले भने ।

ओलीले पार्टीलाई सफल बनाउन र आफू पनि सफल बन्न इमानदारिताको साथ काम गर्नुपर्ने बताए । पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा उनले जोड दिए । ‘सफलतामा पुग्नु छ भने इमानदारिता चाहिन्छ’, उनले भने ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्