Nic Ad Nic Ad
Nic Ad Nic Ad

झण्डै ८ वर्षपछि फिल्ममा फर्किंदै राजेश हमाल

सोमबार, साउन २१, २०८१

काठमाडौं - अभिनेता राजेश हमाल झण्डै ८ वर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । निर्देशक दिवाकर भट्टराईको आगामी एक्सन- थ्रिलरमा उनी अनुबन्धित भएका छन् । हमालको पछिल्लो फिल्म ‘सीता’ थियो ।

निर्माता तथा निर्देशक भट्टराई र अभिनेता हमालबीच आइतबार बेलुका लिखित सहमति भएको छ । सहमतिको जानकारी दिँदै हमालले लेखेका छन्- लामो अन्योलतापछि दिवाकर भट्टराईले निर्देशन गर्ने चलचित्रमा काम गर्दैछु ।’ फिल्मको शीर्षक तय भैसकेको छैन । सामाजिक कथामा आधारित हुने यो फिल्मलाई एक्सनप्रधान बनाउने तयारी छ । फिल्ममा हमालको शीर्ष भूमिका हुने जनाइएको छ ।

‘राजेश दाईलाई पुरानो भन्दा पनि नयाँ लुकमा ल्याउँदैछौं । डेढमहिनादेखि स्क्रिप्टमा बसेका छौं’ निर्देशक भट्टराईले भने, ‘कमब्याकको लागि गर्विलो स्क्रिप्ट भन्ने कुरामा उहाँ सहमत हुनुभयो ।’

हमालको लागि यो फिल्म करिअरको दोस्रो इनिङ हुनसक्ने भट्टराईको दावी छ । फिल्मको लेखन तथा निर्देशन भट्टराईकै हुनेछ । भदौदेखि काठमाडौं, पोखरा र मुस्ताङमा फिल्म छायांकनको तयारी छ ।

अहिले कार्यशाला चलिरहेको र केही दिनमा हमालले पनि ज्वाइन गर्ने जनाइएको छ । यो सहमतिसँगै फिल्म अभिनयमा हमालको लामो समयको खडेरी तोडिने विश्वास लिइएको छ ।

हमालले सेयर गरेको फोटोमा अर्का अभिनेता राज कटुवाल पनि देखिएकाले उनी पनि कास्टको रुपमा हुनसक्ने अनुमान छ । निर्देशक भट्टराईले यो फिल्मबारे विस्तृत पछि सार्वजनिक हुने बताए ।

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्