Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्साको दुग्धेश्वरनाथमा दर्शनार्थीको घुइँचो

सोमबार, साउन २१, २०८१

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । अन्य दिनभन्दा आज  मन्दिरमा स्वदेशी एवं भारतीय दर्शनार्थीको भीड लागेको हो ।

दुग्धेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वर महादेवको दर्शन गर्नका लागि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको बताए ।


पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा  दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

उनले सोमबार भारतीय र नेपाली दर्शनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए । अध्यक्ष थारूले सोमबार मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गरे ।


पर्टेवा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतोले पनि दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आउने दर्शनार्थीको व्यवस्थापनमा जुट्दै आइरहेको बताइन् ।

मन्दिर दर्शन गर्न दर्शनार्थी चारपाङ्ग्रे सवारी साधन, ट्रयाक्टर, मोटरसाइकल र पैदल हिँडेरै आउने गर्छन् । धेरैजसो दर्शनार्थी मोटरसाइकल र ट्रयाक्टर चढेर आउने गर्छन् । मन्दिरमा साउनभर मेला लाग्ने गर्छ ।

यो मन्दिर वीरगञ्जबाट सवारीसाधनमा डेढदेखि दुई घण्टाको यात्रापछि पुगिन्छ । राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका सात बजेपछि मन्दिर जाने सडक बन्द गर्ने गरिन्छ । बिहान ६ बजेपछि भने फेरि खुलाउने गरिन्छ ।  अन्य सिजनमा भने पूर्णतया यहाँ जान रोक लगाइन्छ ।

पर्साको पोखरिया नगरपालिकाबाट दुग्धेश्वर महादेवको शनिबार दर्शन गर्न आएका जटाशङ्कर साहले महादेव मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास लिएर दर्शन गर्न आएको बताए ।


 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:५४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार