Nic Ad Nic Ad
Nic Ad Nic Ad

भाग्यमानी ‘गन्जीमन्त्री’ माननीय मनाङे

सोमबार, साउन २१, २०८१

कास्की– गण्डकी प्रदेशमा कांग्रेस र एमालेको समीकरण बने पनि सरकार टिकाउनका लागि केही सांसदको आवश्यक गणपूरक संख्या चाहिने देखिएको छ। यसकारण मन्त्रालय फुटाउने तयारीमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अग्रसरता देखिन्छ। 

एमालेले तत्काल त्यसो गर्न नहुने बताए पनि अर्को विकल्प नभएपछि लचिलो बन्नुपरेको स्थिति छ। मन्त्रालय फुटाएर एकीकृत समाजवादीमा रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीमा लैजाने तयारीमा रहेका छन्, मुख्यमन्त्री पाण्डे। 

मनाङे आजभोली ‘गन्जीमन्त्री’ भनेर पनि ट्रोल भइरहेका छन्। मन्त्रालयमा गन्जीमात्र लगाएर काम गरेको र निर्देशन दिएको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

मनाङेसँगै माओवादीको चुनाव चिन्ह लिएर जितेका फणिन्द्र देवकोटालाई पनि निरन्तरता दिने तयारीमा मुख्यमन्त्री पाण्डे रहेका छन्। देवकोटा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन्। 

मनाङे गण्डकीमा कसैगरी मन्त्री बनिरहने पात्र पनि हुन्। नेकपा सरकार कालदेखि कांग्रेस–माओवादी, एमाले–माओवादी गठबन्धनमा पनि मन्त्री रहेका उनी कांग्रेस–एमाले गठबन्धनमा पनि मन्त्री बन्न लागेका भाग्यमानी माननीय रहेको बताइन्छ। 

मनाङेनिकट स्रोतले भन्यो,‘बहुमतका लागि र बलियो बहुमतका लागि पनि माननीय सांसद दीपक मनाङेको आवश्यक हुन्छ, यसकारण मन्त्री नपाउनेगरी त उहाँले सहयोग गर्ने कुरा पनि आउँदैन। राजनीतिमा लेनदेन त हुनुपर्छ।’

मनाङेको पृष्ठभूमी भने विवादीत रहेको छ। उनलाई गुन्डा नाइके भनी चिनिन्छ। तर, प्रहरीले त्यस्तो प्रचार गरेको आफू समाजसेवी रहेको उनको भनाई रहँदै आएको छ। 

नेपाली कांग्रेसको राजनीतिक छत्रछायाँमा हुर्किएका उनी आदीवासी जनजाती हुँदै नेकपा र हाल नेकपा एकीकृत समाजवादीसम्म पुगेका छन्। अहिले सत्ता गठबन्धनमा नरहेका उनलाई सरकारमा नजानका लागि एकीकृत समाजवादीले भने पनि मान्ने मनस्थितिमा उनी छैनन्। 

एक नेता भन्छन्,‘बरु पार्टी छाड्छन् सरकारलाई समर्थन र मन्त्री पद छाड्ुनेवाला छैनन्।’ मनाङ ‘ख’बाट उनी निर्विरोध निर्वाचित प्रदेश सभा सदस्य हुन्।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्