Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’को महसुल उठाउनै पर्छ : सांसदहरु

सोमबार, साउन २१, २०८१

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनीहरूले उद्योगी तथा व्यवसायीले विद्युत् भार ‘लोडसेडिङ’को समयमा ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ प्रयोग गरेबापत तिर्नुपर्ने थप महसुल तिर्र्नैपर्ने बताए । महसुल उठाउनुपर्छ भन्ने मत राख्ने नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति सांसदहरुले गुनासो गरे।प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसदहरुले प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई हटाउने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णय गलत भएको धारणा राखे । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार प्राधिकरणका दुई सञ्चालक समिति सदस्यलाई हटाएर नयाँ नियुक्ति गरेको थियो ।

शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा आपत्ति प्रकट गरे। उनले ठुला व्यवसायीले विद्युत् महसुल तिर्नु नपर्ने भए अरु उपभोक्ताले महसुल तिर्नुपर्ने कि नपर्ने भनी प्रश्न गरे ।

सांसद हितबहादुर तामाङले लोडसेडिङ अन्त्य गरेर मुलुकलाई उज्यालो प्रदान गर्दै नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने कार्यकारी निर्देशक कुलमान घिसिङको मनोबल गिराउने, कारबाहीको प्रपञ्च गर्ने प्रयास सरकारले गरेको भन्दै आपत्ति प्रकट गरे ।

सांसद हितराज पाण्डेले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने माग गरे। उनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनुपर्छ भन्ने मत राख्ने सञ्चालक समितिका सदस्यलाई हटाउने सरकारको निर्णय राम्रो नभएको बताए ।

सांसद शेरबहादुर कुँवरले वर्तमान सरकारले नेपाली जनताको पक्षमा काम गर्न नसक्ने घटनाक्रमले पुष्टि गरिसकेको उल्लेख गर्दै डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउनुपर्छ भन्ने माग गर्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका सदस्यलाई बर्खास्त गरिएकामा रोष प्रकट गरे ।

सांसद बिना लामाले धादिङको गंगा जमुना गाउँपालिकामा गएको पहिरोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै प्रभावितलाई उद्धार, राहत तथा पुनः स्थापनाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद विनीताकुमारी सिंहले वरिष्ठ संगीतकार एवम् शास्त्रीय सङ्गीत साधक गुरुदेव कामत आर्थिक अभावका कारण उपचार गराउन सक्दा अल्पायुमा निधन भएको उल्लेख गर्दै प्रतिभाशाली व्यक्तिको उपचारको सहज प्रबन्ध गर्न माग गरिन् ।

सांसद श्यामकुमार घिमिरेले सिन्धुलीको दुधौली नगरपालिकामा एउटा वडाबाट अर्को वडामा जाने पुल निर्माणमा न्यून बजेट विनियोजन भएका कारण सडक सञ्चालनमा आउन नसकेकाले तत्काल सहजीकरण गरिदिन आग्रह गरे ।

सांसद शान्ति विकले नेपालको इतिहास बदल्न नेपालको महिला र दलित समुदायले खेलेको भूमिकालाई नजरअन्जान गरेर मन्त्रिपरिषदमा प्रभावकारी उपस्थिति गराउन नसकिएकामा गुनासो गरिन् ।

सांसद शान्ति श्रेष्ठले काठमाडौँ उपत्यकाभित्रका मुख्य सडकमा हुने जामका कारण जनजीवन प्रभावित भएको, बर्सातको समयमा जलमग्न हुने अवस्था आएको भन्दै सहजीकरणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न माग गरिन् ।

सांसद शिव नेपालीले सार्वजनिक यातायातको प्रभावकारी र सहज व्यवस्थापन गरी नागरिकलाई सहज रूपमा यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद शिशिर खनालले पशुपतिनाथ क्षेत्रमा भइरहेको कोटी होमको समाचार संकलनमा गएका सञ्चारकर्मीहरूमाथि दुर्व्यवहार भएकामा सरकारको ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरे ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्