Nic Ad Nic Ad
Nic Ad Nic Ad

खाद्य प्रविधि कार्यालयमा एकमात्र कर्मचारी हुँदा काम प्रभावित

सोमबार, साउन २१, २०८१

चितवन- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भरतपुरमा एक जना कार्यालय प्रमुख मात्रै हुँदा यहाँको काम प्रभावित भएको छ । जिल्लाका तीन सय उद्योगको अनुगमन गरेर नवीकरण गर्ने बेलामा कर्मचारी नहुँदा काम प्रभावित भएको हो ।

कार्यालयमा प्रमुख र दुईजना प्राविधिक सहायक दरबन्दी रहेको छ । त्यो दरबन्दी आफैँमा कम भए पनि यति बेला प्रमुख मात्रै कार्यालयमा छन् । प्राविधिक सहायकमध्ये एक जना गत वैशाखमा सरुवा भएर हेटौँडा गएका छन भने अर्को एक घाइते भएर विगत एक महिनादेखि लामो बिदामा छन् । कार्यालय प्रमुख सौरभ श्रेष्ठका अनुसार जिल्लामा रहेका उद्योगहरूको हरेक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । त्यसका लागि उद्योगले हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालामा उत्पादित वस्तुको गुणस्तर परीक्षणका लागि निवेदन दिने गर्दछन् । निवेदनपश्चात् प्रयोगशाला हेटौँडाले अनुगमन गरी चाँडो प्रतिवेदन पठाउन जिल्ला कार्यालयलाई पत्राचार गर्दछ । त्यस्ता निवेदन दुई सय हाराहारी पुगिसकेको उनले जानकारी दिए ।

एक जना कर्मचारीले दैनिक तीन/चार उद्योगभन्दा बढी अनुगमन गर्न नभ्याइने भएकाले उद्योगका काम प्रभावित भएको प्रमुख श्रेष्ठले जानकारी दिए । कार्यालयले अनुज्ञा पत्र जारी वा नवीकरणका लागि विशेष अनुगमन, बजार अनुगमन, नमुना सङ्कलन र परीक्षण, उजुरी सम्बोधन जस्ता कार्य गर्ने गर्दछ । सबै काम गर्नुपर्दा उद्योगको अनुगमनमा ढिलाइ भएको उनले बताए ।

जिल्लाका स्थानीय तहहरूमा अनुगमन गर्न सक्ने प्राविधिक कर्मचारी नहुँदा सबैको भर यसै कार्यालयमा केन्द्रित हुने गरेको छ । प्रमुख श्रेष्ठले भने, “स्थानीय तहका जनप्रतिनिधिले अनुगमनमा बोलाउँछन्, हामीसँग जनशक्ति छैन, उहाँहरू विशेषज्ञसहितको अनुगमन गर्न बाध्य हुनुहुन्छ ।” स्थानीय तहमा विज्ञ आफ्नै हुनुपर्ने उनको भनाइ छ ।

खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले विभागअन्तर्गत आवश्यक जनशक्ति नहुँदा समस्या भएको बताए । उनले भने, “कर्मचारी नै कम छन्, भन्दाभन्दा आजित भइसकेँ ।” यद्यपि के गर्न सकिन्छ छलफल गरेर उद्योगका काम नरोकिनेतर्फ काम गरिने उनले बताए ।

खाद्यले नवीकरण समयमा नगर्दा उद्योगहरूको नियमित काम प्रभावित भएको र उपभोक्ता उच्च जोखिममा परेका छन् । मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने खाद्य वस्तुको गुणस्तर हेर्ने कार्यालयमै यस्तो समस्या हुन नहुने उपभोक्ताहरूको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्