Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल-भारत सीमा स्थलमा कडाइ गर्न निर्देशन

सोमबार, साउन २१, २०८१

काठमाडौँ -  केन्द्रीय सुरक्षा समितिको बैठकले नेपाल-भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडाइ गर्न निर्देशन दिएको छ ।

सोमबार(आज) अपराह्न गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको समितिको बैठकले बङ्गलादेशमा भएको तनावपूर्ण राजनीतिक घटनाक्रमसँगै नेपालमा पर्न सक्ने असरका बारे समीक्षा गर्दै स्थलगत नाकाबाट हुने आवत् जावत्‌लाई व्यवस्थित गर्न तथा चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको हो ।

बङ्गलादेशमा विकसित घटनापछि गृहमन्त्री लेखकले चार वटै सुरक्षा निकायका उच्च अधिकारीहरूसहितको बैठक बोलाएका थिए ।

उक्त बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहित उच्च सुरक्षा अधिकारीहरू सहभागी रहेका थिए ।

बैठकमा बंगलादेशको घटना र त्यसले नेपाललाई पार्न सक्ने असरका विषयमा समीक्षा भएको सहभागी एक उच्च अधिकारीले प्रशासनलाई जानकारी दिए । विगतमा म्यानमारबाट रोहिंग्या र अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएसँगै त्यहाँका नागरिक गैरकानूनीरुपमा भारत हुँदै नेपाल प्रवेश गरेको घटनासँगै त्यस्तै किसिमका घटना दोहोरिन नदिन सिमानामा सुरक्षा सावधानी अपनाउने विषयमा समीक्षा भएको ती अधिकारीले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्