Nic Ad Nic Ad
Nic Ad Nic Ad

कञ्चनपुरमा गएको असार २३ र २४ गते आरीघोप्टे वर्षा भएको मौसम विज्ञान विभागको निष्कर्ष

मंगलबार, साउन २२, २०८१

काठमाण्डौ – जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गएको असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको छ ।

विभागका मौसमविद्को टोलीले स्थलगत अध्ययन, तीन ठाउँका वर्षा मापन केन्द्रका उपकरण जाँच र त्यो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड ब्रस्ट’ भएको निष्कर्ष निकालेको हो । गएको असार २३ गते २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६ सय २४ मिलिमिटर कुल वर्षा रेकर्ड भएको थियो ।

यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ देखि उपलब्ध तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.जगदिश्वर कर्माचार्यकाअनुसार हनुमाननगर केन्द्रमा एक घण्टामा १ सय २ मिलिमिटर वर्षा मापन भएको छ ।

सामान्यतया क्लाउड ब्रस्ट भन्नाले एक घण्टामा १ सय मिलिमिटरसम्म वर्षा भएको मानिन्छ । त्यो दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो । साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय थियो ।

अरब सागर र बङ्गालको खाडी दुवैबाट आउने जलवाष्पयुक्त हावा पनि त्यही ठाउँमा मिसिएको र माथिल्लो वायुमण्डलमा मेघगर्जनसहित आरीघोप्टे वर्षा भएको मौसमविद्को निष्कर्ष छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्