बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुस तयार
काठमाडौँ- नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए । सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरूलाई रिहा गर्न समेत आदेश दिएका छन् ।
आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।
उनीहरूले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन् ।
विद्यार्थीहरूले प्रस्ताव गरेका युनुस पनि सरकारको मुख्य सल्लाहकारका रूपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । सुरुमा आफू तयार नभएको भन्दै उनले भनेका छन्, ‘किनकि मैलै गर्नुपर्ने काम धेरै छ ।’
बंगलादेश बाहिर (फ्रान्समा) रहेका ८४ वर्षका उनले भने, ‘विद्यार्थीहरूले धेरै त्याग गरेका छन्, देशका नागरिकहरूले पनि त्याग गरेका छन् । मेरो पनि केही दायित्व हुन्छ । त्यसपछि मैले विद्यार्थीहरूलाई यो जिम्मेवारीका लागि तयार छु भनेको हुँ ।’
उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए ।