Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिमलताल दुर्घटना : अध्ययन कार्यदलले बुझायो गृह मन्त्रीलाई प्रतिवेदन

मंगलबार, साउन २२, २०८१

 

काठमाडौँ- चितवनको सिमलताल पहिरोसँगै त्रिशूलीमा बेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले गृह मन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाएको हो । कार्यदलका संयोजक समेत रहेका गृह मन्त्रालयका सहसचिव छवि रिजालले मन्त्री लेखक समक्ष प्रतिवेदन पेस गरेका हुन् । आफू मन्त्री नियुक्त भएपछि लेखकले असार ३१ गते दुर्घटना अध्ययनका लागि कार्यदल गठन गर्ने निर्णय गरेका थिए । कार्यदलले साउन २ गतेदेखि आफ्नो काम थालेको थियो । दुर्घटनाको कारण, मृतक परिवार पाउनुपर्ने क्षतिपूर्ति र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषय समेटेर कार्यदलले प्रतिवेदन तयार पारेको छ ।

गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

गत असार २८ गते नारायणगढमुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

दुई बसमा ६५ यात्रु सवार थिए । तीन जनाले आफै ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रुको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्