Nic Ad Nic Ad
Nic Ad Nic Ad

सीमामा उच्च सुरक्षा सतर्कता अपनाउन सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

मंगलबार, साउन २२, २०८१

काठमाडौ - सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमामा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

मंगलबार सातै प्रदेश र उपत्यकास्थित बाहिनी मुख्यालयका बाहिनीपति, शिक्षालयका समादेशक र सबै जिल्लाका गणपति तथा गुल्मपतिहरुलाई भर्चुअल माध्यमबाट सीमा सुरक्षा तथा विपद् उद्धारसँग सम्बन्धित समसामायिक विषयमा निर्देशन दिँदै उनले सीमा नाकाबाट आवतजावत गर्ने व्यक्तिहरुको चेकजाँच बढाउन भनेका हुन्।

गैरकानुनी रुपमा हुनसक्ने प्रवेशमा रोक तथा सीमा ईलाकामा हुनेसक्ने अवैध गतिविधिहरुको सुक्ष्म रुपमा निगरानी गरी उच्च सुरक्षा सतर्कता अपनाउन सीमा क्षेत्रसँग जोडिएका बाहिनी मुख्यालय तथा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरुलाई महानिरीक्षक अर्यालले निर्देशन दिएका सशस्त्र प्रहरी बलले जनाएको छ। 

बंगलादेशमा भएको आन्दोलनपछि भारत हुँदै त्यहाँका नागरिक अवैध रुपमा नेपाल प्रवेश गर्नसक्ने भएकाले सीमामा सर्तकता बढाउनुपर्ने सोमबारको केन्द्रीय सुरक्षा समितिको बैठकले निष्कर्ष निकालेको थियो। सोही आधारमा सशस्त्र प्रहरीले सोमबारदेखि नै सीमा क्षेत्रमा चेकजाँच बढाइसकेको छ। 

त्यस्तै,  मनसुनको समयमा हुनेसक्ने विपद् जोखिमलगायतका अन्य घटनाहरुको न्यूनिकरण तथा उद्धार कार्यमा सक्रिय रुपमा परिचालन हुन समेत महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाई प्रमुखहरुलाई निर्देशन  दिएका छन्।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:३२
प्रतिक्रिया दिनुहोस्