इमर्जेन्सीमा आएका बिरामी नफर्काउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आकस्मिक कक्ष (इमर्जेन्सी) मा उपचार गर्न आउने बिरामीलाई तत्काल उपचार दिन स्वास्थ्य संस्थाहरूलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गरी इमर्जेन्सीमा आउने बिरामीलाई उपचार दिएर स्वास्थ्य अवस्था स्थिर बनाई थप सेवा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध नभए सेवा पाउने ठाउँमा पठाउन आग्रह गरेको छ ।यसरी अर्को अस्पतालमा पठाउँदा सो अस्पतालसँग समन्वय गरेर बिरामीलाई चाहिने सेवा उपलब्ध हुने अवस्थामा मात्र पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
नेपालको संविधानले नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्ने भनेको र जनस्वास्थ्य ऐन २०७५ ले आपत्कालीन अवस्थामा परी जीवन जोखिमयुक्त अवस्थामा रहेका व्यक्तिहरूको जीवनलाई जोखिममुक्त गर्न, जीवन वा अंग गुम्नबाट बचाउन आवश्यकता अनुसार दिनुपर्ने तत्कालको सेवालाई आकस्मिक सेवा भनेको छ ।