Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रहरी

एआईजी ज्ञवालीविरुद्ध प्रधान कार्यालयपछि अख्तियारद्वारा छानबिन, घर जाने बेला विवादको पहिरो

बुधबार, साउन २३, २०८१

काठमाडौं– नेपाल प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) श्यामलाल ज्ञवाली आगामी भदौ २६ गते उमेर हदका कारण नियमित अवकाशमा घर जानेछन्। तर घर जानुअघि उनी विवादको पहिरोमा परिसकेका छन्।

उनीविरुद्ध प्रतिनिधि सभाको राज्य व्यवस्था समिति, प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरीका चाङ छन्। तिबाहेक तत्कालिन गृहमन्त्री रवि लामिछानेको आडमा प्रहरीमा ‘चेन अफ कमान्ड’ भत्काएर आफैं आईजी भएको भान हुनेगरी सीआईबीबाट समानान्तर संगठन चलाएको अभियोग पनि छ।

उनले चलाएको यस्तो गतिविधिका कारण भविष्य बोकेका प्रहरी नायव महानिरिक्षक (डीआईजी) मनोज केसीले साथ दिँदा विवादमा तानिएका छन्।

उनी हालै विशेष ब्युरो जस्तो महत्वपूर्ण विभागबाट प्रहरी तालिम केन्द्रमा सरुवा गरिएका छन्, जसलाई राजनीतिक विवादको विषय पनि बनाइयो। 

प्रधान कार्यालयले एआईजी टेकप्रसाद राईको नेतृत्वमा ज्ञवालीविरुद्धका उजुरीमाथि छानबिन जारी मात्र राखेको छैन, प्रमाणहरू संकलन गरी त्यसमाथि गहिरो अनुसन्धान जारी राखेको छ। ज्ञवाली विवादमा रहेका कारणले नै मन्त्रिपरिषदको बैठकले सीआईबी प्रमुखको जिम्मेवारीबाट प्रधान कार्यालयमा रहेको प्रदेश समन्वय विभागमा पठाएको छ। 

यति मात्र होइन ज्ञवालीले सुन तस्करी छानबिन प्रकरणमा तत्कालिन सीआईबी प्रमुख रहेकी किरण बज्राचार्यलाई विवादमा तानी उनको बयानमार्फत प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवरलाई फँसाएर पदमुक्त गर्न लगाउनेसम्मका खेल खेलेको आरोप लागेको छ। आफू संगठन प्रमुख बन्नका लागि त्यो तहसम्मको खेलमा सक्रियता देखाउँदा उनलाई लामिछानेको साथ थियो तर सत्ता समीकरण भत्किएसँगै योजना पनि तुहिएको प्रहरीहरूमा चर्चा छ। 

ज्ञवालीविरुद्ध सुन तस्करी काण्डमा मुछिएका भनिएका जीवन चलाउनेसँग रकम माग गरेको, सहकारी प्रकरणमा पक्राउ गरिएकालाई मुद्दा चलाउनुको साटो सामान्य कागज गरी छाडेको, बैंकिङ घोटालामा मुछिएका अभियुक्तसँग लेनदेन गरेको, नक्कली कागजपत्र पेश गरी प्रहरी सेवामा कायम रहेकोलगायतका अभियोगका उजुरी छन्। 

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अहिले अघि नबढेको ज्ञवालीविरुद्धको उजुरीमाथि छानबिन सुरु गरिने भएको छ। प्रमुख आयुक्त प्रेम राईले उक्त उजुरी अगाडि बढाउने तयारी गरेको अख्तियार स्रोतले जनाएको छ। 

उनीविरुद्ध शैक्षिक प्रमाणपत्रलगायतका कागजातका विषयमा परेका उजुरीमाथि छानबिन हुने बताइन्छ। यो उजुरी प्रकरणमा अख्तियारले अनुसन्धान अगाडि नबढाउनुको कारण ज्ञवालीले अख्तियार प्रमुख राईलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पेल्न खोजेका थिए। तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईमार्फत प्रेमकुमार राईको नाम पोल्न लगाउने ज्ञवालीको प्रयत्न रहेको विषय सतहमा आइसकेको छ।   
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १०:४९
प्रतिक्रिया दिनुहोस्