Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यकर्ता खोज्ने र जनतामा जाने अवसर आयो, अब सत्ता खोज्दै हिँड्दैनौ : ‘प्रचण्ड’

बुधबार, साउन २३, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब माओवादी सरकार खोज्दै नहिँड्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकारभन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिँड्ने बताएका हुन् । उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रित रहने बताए ।पार्टीभित्रका असन्तुष्टिहरूलाई मिलाएर फुट र विभाजनबाट रोक्ने भन्दै प्रचण्डले पार्टी अब फुटतिर नभई जुटतिर केन्द्रित हुने स्पष्ट पारे । उनले माओवादीबाट अलग भएकाहरू छिटै आफ्नो नेतृत्वमा माओवादीमा एकताबद्ध हुन लागेको जानकारी दिए ।

‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले गरेको कामका साथै अहिलेको देशको अवस्थाका बारेमा जनतालाई जानकारी दिन आफै मेची-काली अभियान सुरु गर्ने तयारीमा रहेको धारणा राखे । सरकारबाट बाहिरिएसँगै कार्यकर्तालाई खोज्ने र जनतामा जाने राम्रो अवसर प्राप्त भएको उनले बताए । ‘प्रचण्डले आफू नेतृत्वले धेरै राम्रा काम गर्न खोजेकाले प्रतिक्रियावादीहरू डराएर सरकारबाट हटाएको टिप्पणी समेत गरे ।

त्यस्तै, उनले अहिलेको गठबन्धन डरमा आधारित, भ्रष्टाचारीलाई बचाउने र जनताप्रति प्रतिगमनको हतियार चलाउन उन्मुख रहेको आरोप लगाए । अहिले संविधान संशोधनको तयारी भइरहेको भन्दै उनले विभिन्न परिवर्तनबाट प्राप्त उपलब्धिलाई खोस्ने प्रयास गरे जनताले सफल हुन नदिने जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्