हेलिकप्टर दुर्घटनास्थलबाट पाँच जनाकै शव काठमाडौं ल्याइँदै
काठमाडौं- एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनास्थलबाट पाँचै जनाको शव संकलन गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले शव संकलन गरेर काठमाडौं ल्याउन थालेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ ।
बुधबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनामा परेर पाँच जनाको ज्यान गएको छ । जसमध्ये चार जना चिनियाँ नागरिक हुन् ।
यसैबीच हेलिकोप्टर दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको छ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको भलिबल हेर्न जाने कार्यक्रम स्थगित गरेर मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेका हुन् ।
प्रधानमन्त्री ओलीले बुधबार अपराह्न सवा ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा हुने काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल हेर्न जाने तयारी गरेका थिए ।
तर, नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि उनले खेल हेर्ने कार्यक्रम स्थगित गरेका हुन् ।