Nic Ad Nic Ad
Nic Ad Nic Ad

धान रोपाइँमा मनसुनको साथ, ९६ प्रतिशत सकियो

बुधबार, साउन २३, २०८१

काठमाडौं– यस वर्ष मनसुनले साथ दिँदा धान रोपाइँ लगभग समयमै सकिएको छ । धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ९६ प्रतिशतमा सकिएको हो ।

कृषि विभागका अनुसार साउन २० सम्म देशभर ९६.३ प्रतिशत धान रोपाइँ सकिएको छ । यो गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिमा धान रोपाइँ ८१.८ प्रतिशतमात्र भएको थियो ।

विभागका अनुसार कुल धान रोपाइँ हुने जमिनमध्ये १३ लाख ४९ हजार हेक्टरमा रोपाइँ भएको छ । गत वर्षभन्दा यो वर्ष मनसुन सक्रिय हुँदा धान रोपाइँ समयमा नै सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए । पर्याप्त सिँचाइ सुविधा नहुँदा धान रोप्न आकाशे पानीको भर पर्नुपर्छ । यस वर्ष पर्याप्त पानी परेकाले धान रोपाइँ पनि छिटो सकिएको उनले बताए । यस वर्षको धान रोपाइँ करिब सकिएको उनले जानकारी दिए ।

यस वर्ष मनसुन छिटो नै सुरु भएको हुँदा धान रोपाइँ पनि छिट्टै सकिएको उनले बताए । विभागको तथ्यांकअनुसार सबैभन्दा धरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । यस प्रदेशमा १ लाख ७४ हजार ५७६ हेक्टर जमिनमा रोपाइँ हुन्छ । यस प्रदेशमा कुल जमिनको १०० प्रतिशत नै रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा यो प्रदेशमा कुल क्षेत्रफलको ९९.२ प्रतिशत रोपाइँ भएको थियो । मधेश प्रदेशमा यस वर्ष धान रोपाइँ उल्लेखनीय वृद्धि भएको छ ।

कृषि विभागको तथ्यांकअनुसार साउन २० सम्म ९५.४ प्रतिशत रोपाइँ सकिएको छ । यस प्रदेशमा ३ लाख ८३ हजार हेक्टरमा धान रोपाइँ हुने गरेको छ । जसमध्ये ३ लाख ६८ हजार ३८३ हेक्टरमा धान रोपाइँ सकिएको हो । यसैगरी कर्णाली प्रदेशमा साउन २० सम्म कुल क्षेत्रफलको ९९.२ प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ४१ हजार ९०४ हेक्टर जमिनमा रोपाइँ हुन्छ । जसमा ४१ हजार ५७८ हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी लुम्बिनीमा ९६.७ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको सोही अवधिमा ८६.६ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा ३ लाख ११ हजार हेक्टरमा रोपाइँ हुने गरेको छ । यस्तै, गण्डकी प्रदेशमा ९६.१ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा ८२.३ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेको थियो । जसमध्ये ८८ हजार २५२ हेक्टरमा धान रोपाइँ भएको छ । बागमती प्रदेशमा धान खेती योग्य जमिनको ९४.९ प्रतिशतमा रोपाइँ सकिएको छ । यस्तै कोशी प्रदेशमा कुल जमिनको ९५ प्रतिशत धान रोपाइँ सकिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्