Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशमा शान्त र संयमताका लागि नेपालको आह्वान

बिहीबार, साउन २४, २०८१

 नेपाल सरकारले बङ्गलादेशमा शान्त र संयमताका लागि आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपालले बङ्गलादेशमा शान्ति र स्थिरता सुनिश्चित चाहेको बताएको हो ।

‘हामी सबैलाई शान्त र संयमित हुन आह्वान गर्दछौँ र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्त्वमा जोड दिन्छौँ । हामीलाई विश्वास छ कि बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज सङ्क्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । ‘बङ्गलादेशमा विगत केही हप्तादेखि जारी विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति हामी अत्यन्त चिन्तित छौँ । हामी ज्यान गुमाउनेका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ र घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

बङ्गलादेशमा हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमवार पदबाट राजीनामा दिँदै देश छोडेकी छन् ।  त्यहाँ नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन प्रक्रिया शुरु भएको छ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै विद्यार्थीहरुले गरेको प्रदर्शनका कारण शेख हसिना नेतृत्वको सरकार ढलेको हो । 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्