Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशमा हिंसा रोकेर देश निर्माणमा जुट्न अन्तरिम सरकारको आग्रह

बिहीबार, साउन २४, २०८१

एजेन्सीँ - बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न लाग्नुभएका मोहम्मद युनुसले विरोध प्रदर्शन गरिरहेका विद्यार्थीलाई हिंसा रोकेर राष्ट्र निर्माणका लागि तयार रहन आह्वान  गरेका छन् । उपचारका लागि फ्रान्समा रहेका युनुसले उतैबाट विद्यार्थीलाई शान्त हुन आग्रह गरेको बीबीसीले जनाएको छ  । उनी आज ढाका गएर शपथ लिने तयारी भइरहेको छ ।

राष्ट्रपति र सेना प्रमुखले आन्दोलनरत विद्यार्थीसँग छलफल गरेपछि ८४ वर्षीय नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन लागिएको हो । विद्यार्थीले शुरु गरेको आरक्षण विरोधी आन्दोलन थेग्न नसकेपछि शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेर भारत गएपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् । 

यसैबीच गएको जनवरीमा युनुसलाई श्रम कानुन उल्लङ्घन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएकोमा हिजो अदालतले पुनरावेदनमा उनलाई श्रम सजायबाट सफाइ दिएको बीबीसीले जनाएको छ ।

यसैगरी बङ्गलादेशको सर्वोच्च अदालत बार एसोसिएसन एससीबीएले पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बङ्गलादेशमा सुपुर्दगी गर्न भारतलाई आग्रह गरेको छ । बङ्गलादेशमा भएको हिंसामा निर्दोष नागरिकको ज्यान जानुमा उनीहरू जिम्मेवार रहेको र उनीहरूलाई बङ्गलादेश फिर्ता गरिनुपर्ने बताइएको हो ।

आरक्षण विरोधी आन्दोलनमा अहिलेसम्म ४ सय ५० भन्दा धेरै नागरिकको ज्यान गएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्