Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्यटनमन्त्री पाण्डेले भने- नैतिकता देखाएर राजीनामा दिऊँ कि इमानको बाटोमा हिँडौँ

बिहीबार, साउन २४, २०८१

काठमाडौं- पर्यटनमन्त्री बद्री पाण्डेले आफू सरकारमा सहभागी हुनासाथ दुई वटा ठुला हवाई दुर्घटनापछि नैतिकताको प्रश्न उठेको बताउँदै आफू पनि गम्भीर भएर घोत्लिएको बताएका छन् ।

संसदीय समितिमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

“यहाँ नैतिकताको पनि कुरा उठ्यो, उठाउने माननीय हिँडिहाल्नुभयो,” उनले भने, “मन्त्री पदलाई ठुलो र दुर्लभ पद मानेको छैन । मेरो नैतिकताको विषय यसमा जोडिएको छ ।  म कस्तो मनोदशामा गुज्रिएको हुँला ? म एकप्रकारले अलमलिएको पनि छु । मैले निकै धेरै मेहनत गर्नुपर्ने देखेको छु । विकृतिको डंगुरमाथि उभिएकोजस्तो भएको छु । ”

उनले आफ्नो मन्त्रालयमा जुन क्षेत्र हेर्यो सबै उस्तै रहेको बताए ।

“संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र सबै उस्तै छ । म साधारण मानिस हुँ । म इमान र मेहनतको बलमा आत्मविश्वास बोकेको मानिस हुँ,” उनले भने, “आफूप्रति म विश्वस्त छु । नैतिकताको आधारमा छाडिहालौँ कि भन्ने पनि परेको छ । मैले छाडिहालेँ भने इमान र मेहनतको बाटोबाट च्युत हुने हो कि ! तथाकथित लोकप्रियताको काममात्रै हुने हो कि भन्ने पनि परेको छ ।  कुनै पनि क्षण कर्तव्य च्युत नहुनेगरी मन्त्री पद मेरो लागि केही होइन । मातहतका निकाय कारबाहीको विषयमा हामी घोत्लिएका छौँ ।”
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्