Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा बागमती प्रदेशको ‘क्लोज क्याम्प’ भक्तपुरमा

बिहीबार, साउन २४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेशको बन्द कार्यशाला (‘क्लोज क्याम्प’) भक्तपुरमा सुरु भएको छ । बागमती प्रदेश समितिले आज र भोलि भक्तपुरमा ‘क्लोज क्याम्प’ राखेको हो ।

क्याम्पमा प्रदेश समितिका पदाधिकारी, सदस्य, जिल्ला संयोजक, उपसंयोजक एवं प्रदेशस्तरीय विभागका पदाधिकारी र सदस्यसहित दुई सय ५० को हाराहारीमा सहभागी छन् । क्लोज क्याम्पमा केन्द्रमा जस्तै विचार, संगठन, अभियान, मूल्य-मान्यता, संसदीय मामिला र क्यान्डिडेट क्लब/लिडरसिप एकेडेमी गरी ६ वटा विषयमा समूहगत समूहमा छलफल भइरहेको छ । भोलि आउने समूहगत छलफलको निष्कर्षलाई एकीकृत गरी केन्द्रीय समितिमा बुझाइने रास्वपा बागमती प्रदेश समितिका सभापति डा. अच्युतम लामिछानेले जानकारी दिए ।

बागमती प्रदेशस्तरीय क्लोज क्याम्पको सहजीकरण केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी, केन्द्रीय सदस्यहरू शिशिर खनाल, सोविता गौतम, पुकार बम र केन्द्रीय विभागका कृष्णमान श्रेष्ठलगायतले गरेका छन् । रास्वपाले प्रत्येक प्रदेशको क्लोज क्याम्पको सहरीकरणका लागि केन्द्रीय नेताहरू खटाएको छ । 

‘हालसम्मको गहन समीक्षासहित पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा सुदृढ गर्न अभियानकै रूपमा क्लोज क्याम्प गरेका हौँ’, कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने, ‘केन्द्रले विधान संशोधनमा सुझावसमेत मागेको छ, त्यसबारे पनि छलफल हुन्छ ।’ अन्य प्रदेशमा भोलि र पर्सी क्लोज क्याम्प हुँदै छ । 

गत साता केन्द्रीय तहका नेताहरूका लागि आयोजित क्लोज क्याम्पको समापनमा रास्वपाले प्रदेशस्तरमा पनि गहन छलफलका लागि क्लोज क्याम्प गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्