विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विद्युत् प्राधिकरणका सहायक लेखापालविरुद्ध मुद्दा दायर गरेको छ ।
बिहीबार आयोगले नेपाल विद्युत् प्राधिकरण, बुटवल वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत सुधिर कुमार चतुर्वेदीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको मुद्दा दायर गरेको हो । नक्कली प्रमाणपत्रहरू पेस गरी सो ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको हुँदा निज चतुर्वेदीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौँमा बिहीबार आरोप पत्र दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
चतुर्वेदीले बिहार संस्कृत शिक्षा बोर्डबाट मध्यमा (हाई स्कुल) तहको द्वितीय श्रेणीमा उत्तीर्ण गरेको लब्धाङ्क पत्र, अस्थायी प्रमाणपत्र, श्री जगनाथ शाह संस्कृत प्रा. सह माध्यमिक विद्यालय, कौडिहार चौक महाविर नगर, रक्सौल पूर्वी चम्पारण (बिहार) बाट जारी आचरण प्रमाण-पत्र र विद्यालय परित्याग समेतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।