सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक कानून समितिबाट सर्वसम्मत पारित
काठमाण्डाै – सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले सर्वसम्मत पारित गरेको छ ।
आज दिउँसो बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पास गर्ने निर्णय गरेको हो । विधेयकका सम्बन्धमा नमिलेका चार वटा विषयमा कार्यदलले गरेको सहमतिलाई शीर्ष नेतृत्वले अनुमोदन गरेसँगै १७ महिनादेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक पारित हुने प्रक्रियामा जान लागेको हो ।
समितिमा १५ महिनादेखि विचाराधीन रहेको विधेयक आज पारित भएसँगै आउँदो २९ गते बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ ।
कार्यदलले मानव अधिकारको गम्भीर उल्लङ्घनको परिभाषा, मेलमिलापका लागि स्वतन्त्र सहमति हुन नसकेका घटना, सशस्त्र द्वन्द्वमा जोडिएका तथा प्रभावित व्यक्ति र ज्यान गुमाएका, घाइते तथा अपाङ्गता भएका सुरक्षाकर्मी वा उनीहरूका परिवारलाई परिपूरण र घटी सजायको मागदाबीको विषयमा सहमति जुटाएको थियो ।