Nic Ad Nic Ad
Nic Ad Nic Ad

कृषि मन्त्रालय प्रत्यक्ष किसानसँग जोडिनुपर्छ : कृषिमन्त्री अधिकारी

बिहीबार, साउन २४, २०८१

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालय प्रत्यक्ष रूपमा कृषकसँग जोडिएको हुँदा उनीहरूका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

कृषि विभागले बिहीबार ललितपुरमा आयोजना गरेको विभाग र मातहतका निकायको चौथो त्रैमासिक तथा वार्षिक समीक्षा गोष्ठीमा उनले किसान लक्षित कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न र किसानका समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।‘कृषकका समस्या समाधानमा मेरो भूमिका रहनेछ । मलाई गल्ती गर्ने छुट छैन’, उनले भने, ‘कृषि उत्पादन वृद्धि र किसानका समस्या समाधानमा मन्त्रालय र विभागबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ, विभाग थप सक्रिय बन्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषि क्षेत्रका समस्या समाधानमा विभाग र कृषि विज्ञ सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘विभिन्न बाली तथा पशुमा देखा परेका रोगको उपचार गर्न स्थानीय कृषि शाखा प्रमुख सक्रिय रूपमा किसानसँग जोडिरहनुपर्छ ।’

मन्त्री अधिकारीले किसानको आर्थिक अवस्थालाई सुधार्न र उत्पादन थप वृद्धि गर्न आफूले विभिन्न मन्त्रालयसँग परामर्श गरिरहेको र आगामी दिनमा कृषकका विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्