Nic Ad Nic Ad
Nic Ad Nic Ad

हसिनालाई पदच्युत गराउने  दुई युवा युनुस नेतृत्वकाे सरकारमा

शुक्रबार, साउन २५, २०८१

काठमाडौं - बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारका सदस्यहरूले शपथ लिएका छन् । युनुससहित नवगठित सरकारका १७ जनाले बिहीबार राति बंगलादेशको राजधानी ढाकास्थित राष्ट्रपति कार्यालय बंगभवनमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


जसमध्ये दुई जना शेख हसिना नेतृत्वको सरकार सत्ताच्युत गर्ने आरक्षण कोटाविरोधी आन्दोलनका अगुवा विद्यार्थी नेता छन् । २६ वर्षीय नहिद इस्लाम र आसिफ महमुदकै नेतृत्वमा बंगलादेशमा आरक्षणविरुद्धको आन्दोलन चर्किएको थियो ।

अन्य सदस्यमा बंगलादेशको वातावरण कानुन संघकी प्रमुख कार्यकारी सायदा रिजवाना हसन, महिला अधिकारकर्मी फारिदा अख्तर, मानवअधिकारवादी संगठन ‘अधिकार’का संस्थापक अदिलुर रहमान खान, ‘हफाजत ए इस्लाम’का सल्लाहकार एएफएम खालिद हुसेन, ग्रामीण बैंककी संस्थापक नुरजहाँ बेगम रहेका छन् ।

त्यस्तै स्वतन्त्रता सेनानी शर्मिन मुर्सिद, बिर प्रतिक फारुक–ए–आजम, बंगलादेश बैंकका पूर्व गर्भनर सलेहुद्दिन अहमद, ढाका विश्वविद्यालयका कानुनका प्राध्यापक आसिफ नजरुल, पूर्व महान्यायाधिवक्ता हसन आरिफ, सेवानृवित्त जर्नेल एम सकहवत हुसेन, चटगाउँ हिल ट्र्याक डेभलेपमेन्ट बोर्डका अध्यक्ष सुप्रदीप चक्मा, प्राध्यापक विधान रञ्जन रोय र पूर्वविदेश सचिव तौहिद हुसेन छन् ।

शपथ खाएसँगै अन्तरिम सरकार प्रमुखका रूपमा ८४ वर्षीय युनुसको काँधमा बंगलादेशमा शान्ति स्थापित गर्ने र नयाँ चुनाव गराउने जिम्मेवारी आइपरेको छ ।

युनुसलाई उनी फ्रान्सको राजधानी पेरिस हुँदै अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरिएको थियो। शपथका लागि उनी हिजो बिहीबार मात्रै बंगलादेश आइपुगेका थिए।

स्वतन्त्रता सेनानीका सन्तानलाई दिने गरिएको आरक्षणविरुद्ध विद्यार्थी आन्दोलन चर्किएपछि यही अगस्ट ५ गते प्रधानमन्त्री पदबाट राजीनामा दिँदै हसिनाले देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो। हसिना अहिले भारतको शरणमा छिन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्