Nic Ad Nic Ad
Nic Ad Nic Ad

०७९ मै झन्डै गुल्टिएको प्रचण्ड नेतृत्वको माओवादी घर न घाटको हुने ०८४ को मत विश्लेषण

शुक्रबार, साउन २५, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पार्टी एक्लै मैदानमा जाने घोषणा गरेका छन्।

सरकारतिर नताक्ने तर छुट्टिएर गएका माओवादी घटकसँग एकीकरण गरी चुनावी तयारीमा लाग्ने उनको घोषणा सकारात्मक छ। 

उनले कहिले एमाले र कांग्रेसँग टाँसिदा माओवादीलाई घाटा भएको पनि सुनाए। प्रचण्डले भनेजस्तो ०७९ को निर्वाचनमा कांग्रेससहितको गठबन्धन रहँदा उनलाई घाटा नभई नाफा भएकोचाहिँ पुष्टि हुन्छ। 

त्यसबेला माओवादीले ल्याएको मत विश्लेषण गर्दा यस्तै निचोड निस्किन्छ। कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका दलसँग माओवादीको गठबन्धन रहेको थियो। यसले गठबन्धनमा रहेका सबै दललाई समान फाइदा भएको थियो। यस्तो निचोडको आधार समानुपातिक मत हो। 

प्रत्यक्षमा जितेका सिटचाहिँ गठबन्धनको सकारात्मक प्रभाव थियो। किनभने राष्ट्रिय पार्टी बन्ने समानुपातिक मत समेत नल्याएको एकीकृत समाजवादीले पनि प्रत्यक्षमा १० सिट जितेको छ। 

अब माओवादीको चर्चा गरौं। 

प्रतिनिधि सभामा माओवादीले गत निर्वाचनमा प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट ल्यायो। जबकि भर्खरै गठन गरी चुनावी मैदानमा गएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा १३ सिट ल्याएको थियो।   

रास्वपाले समानुपातिकमा झन्डै माओवादीको हाराहारीमा मत ल्याएको थियो। 

समानुपातिकमा माओवादीले ११ लाख ७५ हजार ६८४ मत पाउँदा रास्वपाले ११ लाख ३० हजार ३४४ मत पाएको थियो। 

माओवादी केन्द्र र रास्वपाले पाएको मतान्तर हेर्दा जम्मा ४५ हजार ३४० को मात्र फरक थियो। 

समानुपातिकमा मार खाएको माओवादीले प्रत्यक्षमा गठबन्धन गरेका कारण नै १८ सीट जितेको पुष्टि हुन्छ। किनभने पार्टीको खास मत र उसको शक्तिको आधारको मापन समानुपातिक मतबाट हुने गरेको छ। 

आगामी निर्वाचनमा नयाँ–नयाँ दल गठन भई जनताको निराशालाई सम्बोधन गर्नका लागि मैदानमा आए यसको मार पुराना दललाई नै पर्ने हो। यसमा कांग्रेस र एमालेलाई पनि घाटा हुनेछ। तर, सबैभन्दा ठूलो मर्काचाहिँ माओवादीले व्यहोर्नुपर्ने देखिन्छ। 

मत परिणामको नतिजा हेर्ने हो भने एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दै मैदानमा गएको पार्टीले साढे २ लाख पनि समानुपातिक मत नल्याउनु भनेको मतदातामा पुराना अनुहार र नेतामा रुचि नभएको प्रमाण हो। 

अझ आगामी चुनावमा मतदाताका रुपमा नयाँ पुस्ता नै धेरै हुने भएकाले पुराना दलले धक्का खाने निश्चित छ। त्यसमा पनि माओवादीको ०६४ देखि ०७९ सम्म खस्किँदो मतले त उसलाई धक्का पार्ने स्पष्ट चित्र देखाउँछ। 

किनभने ०६४ मा ३० प्रतिशत समानुपातिक मत ल्याएको माओवादी ०७९सम्म आउँदा ११ प्रतिशतमा खुम्चिएको छ। संगठनात्मक मात्र नभई जनतामा विश्वासको आशा नजगाए यो निरन्तरता आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट छ। 

यसर्थ प्रचण्डले एक्लै चुनावमा जाने घोषणा गर्नु राम्रो भए पनि अब सत्तामा रहँदा के गरियो भनी गाउँ–गाउँमा मतदातालाई सन्तोष हुनेगरी जवाफ नदिए माओवादीको आगामी चुनावको नतिजा कतै ६–७ प्रतिशतमा खुम्चिने त होइन? यो सम्भावना पनि बलियो छ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्