Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाग पञ्चमीको मेला भर्न टौदहमा भक्तजनको घुइँचो

शुक्रबार, साउन २५, २०८१

काठमाडौँ- काठमाडौँको दक्षिण भेगमा पर्ने टौदहमा नागको पूजा गर्न आज भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन लाग्ने मेला भर्न भक्तजनको घुइँचो लागेको हो । 

नाग पञ्चमीका दिन गरिने पूजाले नाग प्रसन्न भई मनोकाङ्क्षा पूरा हुने तथा पारिवारिक सुखशान्ति कायम हुने जनविश्वास छ । काठमाडौँदेखि करिब नौ किलोमिटर दक्षिणमा रहेको उक्त पोखरीमा कर्कोटक नागको बसोबास रहनुका साथै मानव कल्याणका लागि उक्त नाग क्रियाशील रहेको किंवदन्ती रहेको स्थानीय दिपक नेपालले जानकारी दिए ।

प्राचीनकालमा निर्माण भएको पोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यकाका साथै वरपर क्षेत्रबाट भक्तजनको घुइँचो लाग्ने गर्दछ । पोखरी नजिक स्नान गरी धार्मिक अनुष्ठान, पूजा तथा फूल, अक्षतालगायत बारीमा फलेका फलफूल र अन्य वस्तु चढाउने प्रचलन छ । जनपूर्णिमाको दिनमा पनि यहाँ मेला लाग्ने गर्दछ । देशभरका नाग दहमा आज पूजा गर्न मेला लागेको छ । 

यसैबीच नाग पञ्चमीका दिन हिन्दु धर्मावलम्बीले घरघरमा नागको चित्र तथा तस्बिर टाँसेर देवताका रूपमा पूजा गर्ने प्रचलन छ । बिहानै स्नान गरी पवित्र भई नागको चित्र वा मूर्तिलाई गाईको गोबरले टाँस्ने, नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दूर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँसेपछि आगलागी, चट्याङ, सर्प, बिच्छीलगायतको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्