ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु
ब्राजिल - ६१ यात्रु बोकेर उडेको विमान ब्राजिलको साओ पाउलोमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा विमानका सबै यात्रुको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
ब्राजिलको दक्षीणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरका लागि उडेको टर्बोप्रप विमान भिन्हेडो सहरमा खसेको बताइएको छ । दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
विमानमा ५७ यात्रु र अरु चार जना चालक दलका सदस्य थिए । स्थानीय अधिकारीहरुले दुर्घटनामा सबैको मृत्यु भएको बताएका छन् ।
बीबीसीका अनुसार उक्त विमान मानव बस्तीमा खसेको थियो । ब्राजिलको ग्लोबोन्युज टेलिभिजन नेटवर्कले दुर्घटनाको तस्बिर सार्वजनिक गर्दै दुर्घटनास्थलमा बाक्लो आगोको मुस्लो देखाएको छ ।
सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ।
दुर्घटनापछि उद्धारका लागि ठूलो संख्यामा प्रहरी खटिएका छन् । उनीहरुले यात्रुहरुलाई अस्पताल लगिरहेका छन् । दुर्घटनापछि ब्राजिलका राष्ट्रपति लुला द सिल्भाले सार्वजनिक रुपमा सम्बोधन गर्ने कार्यक्रममा १ मिनेट मौनधारण गरेका थिए । साथै उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।