Nic Ad Nic Ad
Nic Ad Nic Ad
स्मरण 

दरबार हत्याकाण्डबारे यस्तो थियो पूर्वयुवराज्ञी हिमानीले छानबिन आयोगलाई दिएको बयान

शनिबार, साउन २६, २०८१

काठमाडौं– नेपालका राजसंस्था विस्थापनको प्रस्थानविन्दु थियो नारायणहिटी दरबार हत्याकाण्ड। 

२०५८ साल जेठ १९ गते भएको त्यो कारुणिक हत्याकाण्डसँगै नेपालमा राजसंस्था नै नामेट हुने यात्रा सुरु भयो। उत्तराधिकारीका रुपमा रहेका जीवित अनि राजाको भूमिकामा उदाएका ज्ञानेन्द्र शाहले ५ बर्षसम्म मात्र कुर्सी जोगाउन सके। 

कुर्सीको मात्र कुरा होइन, उनले राजसंस्थाको इतिहासलाई पनि सोही समयसम्म मात्र टिकाउन सके। र, जनआन्दोलनसँगै राजसंस्था इतिहास बन्यो। 

ज्ञानेन्द्र शाह अन्तिम राजाका रुपमा रहे। अहिले यदाकदा राजसंस्थाको आवाज उठे पनि गणतन्त्र नेपाल बनेको १७ बर्ष पुगिसकेको छ। 

यद्यपि, दरबार हत्याकाण्डको सान्दर्भिकता र चर्चा कम हुने गरेको छैन। सो क्रममा कसले के बयान दिए भन्ने अहिले पनि चासो र चियोको विषय बन्ने गरेको छ। 

दरबार हत्याकाण्डको प्रत्यक्ष साक्षी पूर्वयुवराज्ञी हिमानी शाहसहितसँग छानबिन आयोगले बयान लिएको थियो। 

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। घटना कसले गरायो भन्ने विषय अझै रहस्यमै छ।

तत्कालिन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा छानबिनका लागि एउटा आयोग गठन गरिएको थियो। त्यसपछि यस सम्बन्धमा थप जाँचबुझ र छानविन गर्न सम्म कुनै समिति बनेको छैन। 

उक्त समितिले राजपरिवारका केही सदस्यहरुसँग बयान लिएको थियो।

उक्त आयोगलाई बयान दिने क्रममा हिमानीले आफूमाथि पनि बन्दुक तेर्स्याइएको तर भाग्यले बाँच्न सफल भएको बताएकी छिन् ।

त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ। लिष्ट प्राप्त ग¥यौँँ। अब सरकारलाई के कति सम्झना छ?

डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ भनी आयोगले सोधेको प्रश्नमा उनले भनेकी छन्,‘ डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन। तर सुरुदेखि नै हामी कार्यक्रममा थियौँ। कार्यक्रममा ८ बजेसम्म सबैजसोको सवारी भैसकेको थियो। ठुलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन।’

उनले अगाडि भनेकी थिइन्,‘तर, ठूलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाँइँ, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो। पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङ्ग आवाज आयो।’

हिमानीले अगाडि भनेकी थिइन्,‘अनि ... अनि त्यसपछि कान्छो बुवा अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुनातिर यसो साइड परेर लुकेर हामी बसिराखेका थियौँ। अनि त्यसपछि चुप लागेर बस्यौँ ...त्यसपछि फेरी आएर परर पररररर बन्दुक पड्केको सुनेको त्यति नै।’

आयोगले यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन? अनि आफ्नो चाहिँ? भनेर सोधेको प्रश्नमा हिमानीको उत्तर थियो,‘हामीतिर पनि बन्दुक तेर्स्याइरहनु भएको थियो। डाइनिङ रुम जाने एउटा डोर छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौँ।’

अनि त्यो बगौचाँको कुराको सन्दर्भमा आयोगलाई उनले भनेकी थिइन्,‘बन्दुकहरु पड्केको मात्र सुनेँ।’

यीनै बयानहरूको आधारमा तारानाथ रानाभाट समेत रहेको आयोगको प्रतिवेदन सार्वजनिक गरिएको थियो। सो क्रममा रानाभाटको प्रस्तुतीलाई लिएर आयोगको प्रतिवेदन पत्याउन नै संशय भएको थियो।
 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्