Nic Ad Nic Ad
Nic Ad Nic Ad

रोजगारीको अवसर नहुँदा युवाहरू पढ्न देश बाहिर जान थाले : शिक्षामन्त्री भट्टराई

शनिबार, साउन २६, २०८१

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्न देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् ।

काठमाडौँमा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसियसन नेपालको पाँचौँ साधारणसभा शनिबार उद्घाटन गर्दै मन्त्री भट्टराईले उक्त कुरा बताएकी हुन् ।‘विद्यार्थीहरू पढ्न बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालय मात्रै नभई ज्ञानपछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरू देश बाहिर जाने परिस्थिति सिर्जना भएको हो’, शिक्षामन्त्री भट्टराईले भनिन्, ‘राजनीतिक अस्थिरताका कारण देशमा केही हुँदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरू बाहिरिइरहेका छन् ।’

उनले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन् । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरू दुर्बल हुँदै गएको उनको भनाइ छ ।

शिक्षामन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रमलगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताइन् ।

कार्यक्रमका विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्