Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेंगी र हैजा सङ्क्रमितको संख्या बढ्दो

शनिबार, साउन २६, २०८१

काठमाडौँ - केही सातायता डेंगी र हैजाका सङ्क्रमितको संख्यामा बढ्दो क्रममा रहेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगी सङ्क्रमितको संख्यामा तीन हजार ८४ जना पुगेको छ । चार दिनयता सात सय २२ जना डेंगी संक्रमित थपिएका हुन् ।

डेंगी र हैजा सङ्क्रमितको संख्या बढ्दो

यही साउन २१ गते दुई हजार तीन सय ६५ जनामा डेंगी पुष्टि भएको थियो । यो संख्या शुक्रबारसम्म तीन हजार ८४ रहेको महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगी सङ्क्रमण फैलिएको छ । सबभन्दा बढी डेंगी तनहुँमा पाँच सय ८३ जनामा देखिएको छ । काठमाडौँ जिल्लामा तीन सय सात, कास्कीमा एक सय ६६ र झापा एक सय ३५ जना डेंगी संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयले डेंगीे सङ्क्रमितको संख्या बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । ‘सरकारी अस्पतालमा डेंगी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

४७ मा हैजा पुष्टि

यस्तै महाशाखाका अनुसार हैजाका बिरामीका संख्या ४७ पुगेका छन् । किटजन्य रोग शाखाका प्रमुख डा दाहालले ललितपुर, काठमाडौँ, प्युठान, कैलाली र रुपन्देहीमा हैजाका बिरामी देखिएका बताए । उनका अनुसार ललितपुरमा ३४, काठमाडौँमा दुई, कैलालीमा आठ , प्युठानमा दुई र रुपन्देहीमा एक जनामा हैजा पुष्टि भएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्