Nic Ad Nic Ad
Nic Ad Nic Ad

शुक्लाफाँटामा दुर्लभ अजिङ्गर फेला

शनिबार, साउन २६, २०८१

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका २ लक्ष्मीपुरमा आज दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिङ्गर फेला परेको हो ।

आठ किलो तौल भएको अजिङ्गरको लम्बाइ तीन मिटर बढी रहेको वडा सदस्य डबलबहादुर ऐरले बताए । “अजिङ्गर बाख्राको खोरभित्र रहेको जानकारी प्राप्त हुनासाथ सुरक्षित साथ समातेर बोरामा राख्यौँ,” उनले भने , “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अजिङ्गर फेला परेको जानकारी दियौँ, त्यसपछि आइपुगेको निकुञ्जको टोलीलाई समातेको अजिङ्गर सहितको बोरा दियौँ ।”

निकुञ्जका कर्मचारीले उद्धार गरिएको अजिङ्गरलाई निकुञ्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन् । अजिङ्गर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय बासिन्दा हरिदत्त भट्टले बताए । उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाइएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्