Nic Ad Nic Ad
Nic Ad Nic Ad
माओवादी स्थायी समिति

प्रचण्डलक्षित जनार्दनका पाँच मुख्य अभियोग यस्ता छन्

आइतबार, साउन २७, २०८१

काठमाडौं– नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी उपमहासचिव जनार्दन शर्माले विभिन्न आरोप लगाएका छन्। 

साउन २५ गतेदेखि जारी स्थायी समितिको बैठकमा शर्माले एक प्रस्ताव पेस गरी पार्टीका बेथितिका विषयमा उठान गरेका छन्। यसबाहेक उनले अध्यक्ष प्रचण्डलाई नै केन्द्रमा राखेर विभिन्न आरोपलाई पनि उल्लेख गरेका छन्। 

उनले लगाएका खास आरोप मध्य एउटामा भनिएको छ,‘पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुची बढ्दै गयो। फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गयो। कम्युनिस्ट स्पिरिटअनुसार सामूहिक छलफल र बहसको परिपाटी कमजोर हुन पुग्यो।’

केन्द्रीय समितिमा शर्माले उठाएको परिवारवाद हावी भएको विषय फेरि पनि उल्लेख गरेका छन्। उनले उठाएको अर्को बुँदामा भनिएको छ,‘ पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हावी गराइयो।’

पार्टी संगठन र आत्माका विषयमा कुरा उठाउँदा अनेकथरी हल्ला चलाइएको बारे शर्माले भनेका छन्,‘पार्टीभित्र मुद्दा विशेषमा कमी कजमेरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइयो।’

विधि र विधानको कुरा गर्दा त्रसित हुनुपर्ने तर्क गरेका शर्मा एउटा बुँदामा भन्छन्,‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो, अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग गरेको आभाष भयो।’

मनलाग्दी संगठन चलाइएका कारण कतिपय विषय अन्यौलग्रस्त हुन पुगेको जिकिर गरेका शर्माले उठाएको बुँदामा भनिएको छ,‘पार्टी सञ्चालनको मुल्य मान्यता, विधि, पद्दतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भयो न संगठनको स्वरुप र कमिटीहरू कतिबेला के बन्छ भन्ने कुरा अन्यौलग्रस्त भयो।’
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्